समाचारबिहीबार, माघ १६, २०७०
कांग्रेसले बहुमतको सरकार बनाउने
राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र मन्त्रिपरिषदको गठन गर्न राष्ट्रपतिले दिएको एकहप्ते म्याद सकिनु दुई दिन अघि कांग्रेस सभापति सुशील कोइरालाले संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि आफूले अन्तिम समयसम्म प्रयास गर्ने तर, सहमति नभए नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने बताएका छन् ।
१६ माघमा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले काठमाडौंको चाक्सीबारीमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी कोइरालाले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै भने, “दलहरुसँग सहमतिका लागि प्रयास गरिरहेका छौं तर, सहमति नबनिरहेको अवस्थामा बहुमतको सरकार गठनतर्फ केन्द्रित हुनेछौं ।”
उनले चाँडै सरकार गठन गरी संविधान निर्माणमा केन्द्रित हुनु जरुरी रहेकोमा जोड दिए ।
राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिमा सरकार गठनका लागि १९ माघसम्मको म्याद दिएका छन् । तोकिएको समयमा सरकार गठन गर्न नसके राष्ट्रपतिसँग थप समयको माग गरी सहमतिको प्रयास गर्ने चलन विपरित यसपटक भने १९ माघपछि राष्ट्रपतिले बहुमत प्राप्त दललाई सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ ।
राप्रपा नेपाल, एमाओवादी र केही मधेश केन्द्रीत दलहरुले सरकारमा नजाने र समर्थन पनि नगर्ने बताइरहेका बेला सहमतिको सरकार गठनको सम्भावना निकै कम छ ।
