समाचारशुक्रबार, माघ १७, २०७०
पैसा लिँदै जग्गा फिर्ता गर्दै वैद्य माओवादी
छेटु शेर्पा, सङ्खुवासभा
संखुवासभाका विभिन्न ठाउँमा कब्जा गरेको जग्गा गोप्य रुपमा पैसा लिएर मात्र नेकपा–माओवादीले फिर्ता गरिरहेका हुन् । भूमिसुधार ऐन संशोधन हुनुपर्ने माग गर्दै सर्वसाधारणको कब्जा गरेको जग्गा नेकपा–माओवादीले पैसा लिएर फिर्ता गरिरहेको फेला परेको हो ।
२०६७ सालमा पार्टीको झण्डा गाडेर संखुवासभा, खाँदबारी–११ पिप्लेका नारायण अधिकारीको कब्जा गरेको जग्गा माओवादीले रु. ७५ हजार लिएर फिर्ता गरेको फेला परेको छ । उनीहरुले मोहीलाई रकम दिन लगाएर जग्गा फिर्ता गरेको कागज गराएका छन् ।
जग्गा भोगचलन गर्दै आएका मोही हेमन्त राईले जग्गा छाडिदिने शर्तमा जग्गावाल नारायण अधिकारीलाई रु. ७५ हजार दिन लगाइएको प्रमाण हिमालले प्राप्त गरेको छ । केही महीना अघि मात्र कब्जा गरिएको भोलामान श्रेष्ठको सिद्धकालीको जग्गा बिक्री गर्न लगाई नेकपा–माओवादीका नेता तथा कार्यकर्ताले रकम असुलेका थिए ।
दश वर्षे सशस्त्र हिंसाको अवधिमा १४७ जनाको घरजग्गा माओवादीले कब्जा गरेको निवेदन जिल्ला प्रशासन कार्यालय संखुवासभामा दर्ता भएको छ । नेकपा–माओवादीको जिल्लास्तरीय बैठकले भूमिसुधार ऐन संशोधन नभएसम्म जग्गा कब्जा गर्ने निर्णय नै गरेको थियो ।

