समाचारशुक्रबार, माघ १७, २०७०
देशभरका सामुदायिक विद्यालयले कम्प्युटर पाउने
सरकारले विद्यालयमा कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा प्रति विद्यालय पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जनाएको छ ।
यसका लागि सरकारले विनियोजन गरेको रु एक अर्ब सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत प्रतिविद्यालयले रु एक लाख ४० हजारका दरले पाउने गरी विद्यालयलाई पठाइसकेको विभागका महानिर्देशक लव अवस्थीले बताए ।
सरकारले दिएको रकममा विद्यालयले थप रु ६० हजार थपेर पाँचवटा कम्प्युटर खरिद गर्नुपर्नेछ । विद्यालयले थप गर्नुपर्ने रु ६० हजार बैंक खातामा जम्मा गरेको रसिद शिक्षा कार्यालयमा पेस गरेपछि मात्र विद्युत्् खपत कम गर्ने कम्प्युटर खरिद गर्न शिक्षा कार्यालयले विद्यालयलाई उक्त रकम दिनेछ ।
विद्यालयले थप गरेको ६० हजार सहित दुई लाख रुपैयाँमा पाँच थान कम्प्युटर, एक थान प्रिन्टर, इन्टरनेट र विद्युत् लाइन नभएको स्थानमा वैकल्पिक व्यवस्थासमेत गर्नुपर्ने शर्त राखिएको छ ।
विद्युत्् लाइन नपुगेको विद्यालयमा वैकल्पिक ऊर्जामार्फत सहायता उपलब्ध गराएर व्यवस्था गर्ने विभागले जनाएको छ ।
विभागले ०६७ देखि गत वर्षसम्म एक हजार ४५२ विद्यालयमा कम्प्युटरको व्यवस्था गरिसकेको छ भने यसरी वितरण गरेको कम्प्युटर विद्यालयले सही रूपमा प्रयोग गरे नगरेको अनुगमनसमेत गर्ने भएको छ ।
रासस
