समाचारशनिबार, माघ १८, २०७०
अधिकारी दम्पतीको अनशन सय दिन
न्यायका लागि भन्दै गोरखा फुजेलका नन्दप्रसाद गंगामाया अधिकारी दम्पतीले पछिल्लोपटक शुरु गरेको अनशन १८ माघमासय दिन पुगेको छ ।
२०६४ सालमा माओवादीद्वारा हत्या गरिएका आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग गर्दै अनशनमा बसेका उनीहरु वीर अस्पतालमा नै अनशनमा छन् । अक्सिजन, स्लाइनले मात्र ती दम्पतीको श्वासप्रश्वासलाई जीवन्तता दिइराखेको छ ।
अस्पतालका निर्देशक डा बुलन्द थापाले भने, “उहाँहरुको स्वास्थ्य अवस्था जटिल हुँदै गइरहेको छ । अक्सिजन, स्लाइनले मात्र जीवन बचाइरहेको छ ।”
आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने एकसूत्रीय माग राख्दै अधिकारी दम्पत िपटकपटक अनशन बस्दै आएका छन् । पछिल्लोपटक उनीहरुले ८ कात्तिकदेखि अनशन शुरु गरेका थिए ।
यसअघि पनि अधिकारी दम्पती अस्पतालको आकस्मिक कक्षमा अनशनमा बसेका थिए । सर्वाेच्च अदालतले अधिकारी दम्पतीको मागलाई सम्बोधन गर्न र खाना खुवाई जीवन रक्षा गर्न सरकारलाई आदेशसमेत दिएको थियो ।
सरकारले हत्याका आरोपितलाई पक्राउ गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्यसबेला उनीहरुले ४८ दिनपछि अनशन अन्त्य गरेका थिए ।
तर हत्याका आरोपितलाई कानूनी दायरामा नल्याएपछि उनीहरु पुनः अनशन शुरु गर्न बाध्य भएका हुन् ।
“मैले छोराको हत्यारालाई किटानी जाहेरीका साथ २०६१ जेठ २४ गते नै प्रहरीसमक्ष निवेदन दिएको थिएँ । तर प्रहरी र सरकारले हत्यारालाई किन पक्रँदैन ? किन मैले न्याय पाइनँ, न्याय पाइन्छ कि भनेर बूढाबूढी अनशन बसेका हौँ” नन्दप्रसादले भने ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि अधिकारी दम्पतीको जीवन रक्षाका लागि पटकपटक सरकारको ध्यानाकर्षणसमेत गराइसकेको छ ।
यसैबीच अधिकारी दम्पतीले शुरु गर्नुभएको अनशन एकसय दिन पुगेको दिन विभिन्न मानव अधिकारवादी संघ संगठनले उनीहरुको जीवन रक्षाका लागि प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् ।
