समाचारशुक्रबार, माघ २४, २०७०
एमाले नेता हत्याका ५ अभियुक्तलाई जन्मकैद
जिल्ला अदालतले एमाले नेता छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई जन्मकैदनको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले २३ माघमा फैसला सुनाएको हो ।
पूर्पक्षमा रहेका एमाओवादी कार्यकर्ताहरू पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले–९ का टिकाराम भुजेल, पोखरे गाविसकै विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई जन्मकैदको सजाय तोकिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए ।
सोही मुद्दामा तारेखमा रहेका ठूलाछाप गाविसका देवबहादुर कटवाल र दिलबहादुर सार्की तथा भदौरे गाविसका लालबहादुर भुजेललाई तीन वर्षको कैद तोकिएको छ । उक्त मुद्दामा किटानी जाहेरी परेर फरार रहेका एमाओवादीका कार्यकर्ताहरू बाबुराम सुवेदी, दिपक कटवाल, तारा सिके लगायत सात जनाको मुद्दा अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी मुलतवीमा राखिएको छ ।
मुद्दाको फैसलापछि वादीका तर्फबाट बहस गरेका अधिवक्ता नानीबाबु बुढाथोकीले पीडितले न्याय पाएको प्रतिक्रिया दिए । एमाले नेता कार्कीको २४ असार २०६७ मा एमाओवादी कार्यकर्ताले ठूलाछापको निसंखेस्थित तारा होटलमा रड र लाठी प्रहार गरी हत्या गरेका थिए ।
रासस
