समाचारशनिबार, माघ २५, २०७०

एमालेले प्रधानमन्त्रीको फाराम लग्यो, कांग्रेस र एमालेबीच वार्ताको तयारी

हिमालखबर

नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवारीका लागि संसद सचिवालयबाट फारम लिएर गएको छ भने प्रधानमन्त्री पदको प्रमुख दावेदार नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनालालाई वार्ताका लागि सन्देश पठाएका छन् ।

नेकपा एमालेका सभासद रामवीर मानन्धरले प्रधानमन्त्रीको उम्मेदवारी दर्ताका लागि व्यवस्थापिका संसद सचिवालयबाट २५ माघ दिउँसो फाराम लगेको सचिवालयले जनाएको छ । त्यस्तै नेपाली कांग्रेस सभापति सुशील कोइरालाले पार्टी केन्द्रीय सदस्य तथा वार्ता कमिटीका सदस्य दीपकुमार उपाध्यायमार्फत आफ्नो सन्देश एमाले अध्यक्ष झलनाथ खनाललाई पठाएका छन् ।

उपाध्यायले एमाले अध्यक्ष खनाललाई दुई दलवीच वार्ता गर्न सभापति कोइरालाको सन्देश पठाएपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच आजै वार्ता हुने र सरकार गठनका लागि सहमति हुन सक्ने संभावना बढेको छ ।

शक्ति बाँडफाँडका लागि बार्गेनिङ गर्न नेकपा एमालेले राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ । त्यसैगरी अन्य पद र मन्त्रालय बाँडफाँड सम्बन्धमा पनि दुबै दलबीच कुरा मिलिरहेको छैन ।

व्यवस्थापिका संसदले प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन २५ र २६ माघ दुई दिनको म्याद तोकेको छ ।

संसदको कार्यतालिकाअनुसार २७ माघमा प्रधानमन्त्रीको निर्वाचन हुने भएपछि सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच चाँडै सहमतिमा पुग्न दबाब बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>