थप समाचारआइतबार, माघ २६, २०७०
धरानमा बहुविवाहसम्बन्धी उजुरीको चाङ
प्रशस्त पैसा हुने तथा वैदेशिक रोजगारीका लागि विदेशिने महिला तथा पुरुषका कारण धरानमा पछिल्लो समयमा सम्बन्ध जोडिने र विच्छेद हुने घटनाका उजुरीले प्रहरी नै हैरानीमा परेको छ ।
दैनिकजसो महिला तथा पुरुषले बहुविवाहविरुद्ध वा सम्बन्ध विच्छेद गरी पाउँ भनेर निवेदन दिने क्रम बढेसँगै मिलापत्र गराउने र सम्बन्धित निकायसम्म पुर्याएर कानुनी न्याय दिलाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालका अनुसार आर्थिक वर्ष २०६९ सालमा कार्यालयमा दर्ता हुन आएका महिलासम्बन्धी १३३ उजुरीमध्ये १०३ वटा बहुविवाहसम्बन्धी थिए ।
यसैगरी आर्थिक वर्ष २०७० को हालसम्म परेका २०४ वटा उजुरीमध्ये ७५ वटा मुद्दा बहुविवाहसम्बन्धी रहेको उनले बताए । तीमध्ये ७४ वटा मुद्दामा प्रहरीले दुवै पक्षलाई एक ठाउँमा राखेर छलफल गराई आपसमा मेलमिलापसमेत गराएको बताइएको छ ।
महिला र पुरुषबीच बोलचाल वा सामान्य उठबसकै कारणले पनि बहुविवाहको उजुरी परिहाल्ने तथा कतिपय रिसइवीका कारणले पनि मुद्दा हाल्ने चलन बढेको पाइएको प्रहरीको भनाइ छ ।
बहुविवाहसँगै धरानमा पछिल्लो समयमा घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको पाइएको छ । यो वर्ष घरेलु हिंसा भएको भन्दै प्रहरीमा ५० वटा मुद्दा दर्ता भइसकेका छन् । अघिल्लो वर्ष इलाका प्रहरी कार्यालयमा २४ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएको थियो ।
पछिल्लो समयमा महिला सरोकारवाला सङ्घसंस्था र अधिकारवादीहरुको सक्रियताका कारणले पनि महिला हिंसा तथा महिलामाथि हुने जुनसुुकै अपराधजन्य घटनाहरु न्यायका लागि प्रहरीमा आउने क्रम बढेको पनि निरीक्षक रिजालले जानकारी दिए ।
रासस
