समाचारसोमबार, माघ २७, २०७०
शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा
प्राडा गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै तथा शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकमा रतेन्द्रनाथ श्रेष्ठको नियुक्तिको विरोधमा शिक्षण अस्पतालका विभागीय प्रमुखहरु र चिकित्सकहरुले राजीनामा गर्ने भएका हुन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको प्राध्यापक संघ, चिकित्सक शिक्षक संघ, रेजिडेन्ट डक्टर्स एशोसिएसन र स्ववियुले २७ माघमा संयुक्त विज्ञप्ति जारी गर्दै इमर्जेन्सी र भर्ना भएका विरामीहरुले दिइने बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गर्ने जनाएका छन् ।
त्रिविले २५ माघ शनिबार नियुक्त गरेका निमित्त कार्यकारी निर्देशक रतेन्द्रनाथ श्रेष्ठलाई उनीहरुले कार्यालय प्रवेशमा रोक लगाएका छन् । सहकर्मी र विद्यार्थीहरुको विरोधले गर्दा कार्यकक्षमा जान नपाएका श्रेष्ठले २७ माघमा कार्यालय बाहिरै केही कागजातमा हस्ताक्षर गरेर आफूले कार्यभार सम्हालेको संकेत गरेका छन् ।
त्रिवि र सरकारले गरेको प्रतिवद्धता अनुसार डिन नियुक्ति लगायतका कार्यहरु नभए पछि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसी चौथो पटक अनशनमा बसेका छन् भने अस्पतालका निर्देशक डा भगवान कोइरालाले २४ माघमा पदबाट राजीनामा दिएका थिए ।
