थप समाचारबुधबार, माघ २९, २०७०
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको राजीनामा
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीले असुरक्षाको कारण देखाउँदै २८ माघ साँझ सामूहिक राजीनामा दिएका हुन् । विश्वविद्यालयका उपकुलपति जयराज अवस्थीसहित परीक्षा नियन्त्रक कुमार थापा, रजिष्ट्रार हेमराज पन्त, चारै संकायका डीनहरु भारती जोशी, नारददत्त अवस्थी, टेकराज पन्त र भवानी चन्द ठकुरीले राजीनामा दिएका हुन् ।
सामूहिक रुपमा दिएको राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाएको उपकुलपति अवस्थीले जानकारी दिए । काम गर्ने वातावरण नभएपछि राजनीनामा दिएको उनले बताए । ‘‘दुव्र्यवहार भयो, प्रतिशोधको भावना लिएर आउन थाले, काम गर्ने वातावरण भएन, त्यसैले राजीनामा दियौं,’’ उनले भने ।
गत साता सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसमा कर्मचारी भर्नाका विषयलाई लिएर नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादी निकट तीन विद्यार्थी संगठनले बिरोध गर्दै आएका थिए । तीनै संगठनले दुई दिनदेखि क्याम्पसमा तालाबन्दी गरेर पठनपाठन समेत ठप्प पारेका थिए ।
तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुख मुकुन्द कलौनीको राजीनामा माग्ने र नेविसंघले पठनपाठन सञ्चालन गर्नुपर्ने भन्दै उपकुलपति लगायतका पदाधिकारीहरुलाई दुव्र्यवहार गरेका थिए । उपकुलपति निवास पुगको विद्यार्थी संगठनले नाराबाजी गर्दै दुव्र्यवहार गरेपछि पदाधिकारीहरु सामूहिक राजीनामा दिएका हुन् ।
बच्चु विक, महेन्द्रनगर
