थप समाचारबिहीबार, फाल्गुण १, २०७०

गरीबी र पारिवारिक समस्याले यौनकर्मीको संख्या बढ्दो

हिमालखबर

सुर्खेतमा एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले पछिल्लो ६ महिनाको अवधिमा मात्रै जिल्लाका विभिन्न गाविस र नगरपालिकामा गरी १२० जना नयाँ यौन व्यवसायी महिलाको पहिचान भएको दाबी गरेको छ ।

गरिबी, पारिवारिक समस्या, श्रीमान्को व्यवहार, श्रीमान् घरमा नहुनुजस्ता विभिन्न परिस्थितिका कारणले महिला यस पेसामा संलग्न हुने गरेको संस्थाको अनुमान छ । साथै द्वन्द्वपीडित, विद्यार्थी पनि यो पेसामा संलग्न रहेको संस्थाले बताएको छ ।

नयाँ यौन व्यवसायी थपिएपछि जिल्लामा यौन व्यवसायीको सङ्ख्या ६१६ पुगेको स्याकका कार्यक्रम संयोजक चन्द्र विकले जानकारी दिए ।

उनले यौन व्यवसायीको सङ्ख्या हरेक महिनामा थपिने गरेको दाबी गर्दै भने, “हरेक महिना नयाँ यौन व्यवसायीको पहिचान हुने गरेको छ, कतिपय सहजै खुल्ने गरेका छन्, नखुल्नेको सङ्ख्या अझ धेरै छ ।”

वीरेन्द्रनगर नगरपालिका, घुमखहरे, सहारे, मालारानी, राकम, दहचौर, मैनतडा, मेहेलकुना, गुमी, रामघाट, दशरथपुर, लेखफर्सा, छिन्चु, जर्बुटा, लाटीकोइली, उत्तरगङगा, बिजौरा, गुठु, विद्यापुर, सालकोट, बाबियाचौर, आग्रीगाउँ, बजेडी चौर र घोरेटा गाविसमा यौनकर्मी महिला भेटिएको संस्थाको दाबी छ ।

कार्यक्रमका संयोजक चन्द्र विकले यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको भन्दै त्यसमा पनि विवाहित महिला धेरै भएको बताए । पछिल्लो छ महिनाको तथ्याङ्कमा मात्रै यौन व्यवसायमा संलग्नमध्ये विवाहित महिलाको सङ्ख्या ८७ छ भने अविवाहितको सङ्ख्या ३३ रहेको छ ।

यस्तो व्यवसायमा लागेकामध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्षसम्मका रहेको विकले जानकारी दिए ।

संस्थाले एचआइभी एड्स र अन्य यौन रोगको जोखिमलाई ध्यानमा राख्दै असुरक्षित यौनसम्पर्कबाट बच्न सचेत गराएपछि उनीहरुले अहिले कन्डमबिना शारीरिक सम्बन्ध नराख्ने र महिना महिनामा जाँच गर्ने गरेका छन् । ६ महिनाको अवधिमा ६७ जनाको रगतको निःशुल्क जाँच गरी उपचारका लागि सिफारिससमेत गरिएको संस्थाले जनाएको छ ।

पहिचान भएका यौनकर्मीमध्ये कसैलाई पनि एचआइभी पोजेटिभ भने नदेखिएको संस्थाले बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>