समाचारबिहीबार, फाल्गुण १, २०७०

प्राडा केसीमाथि नै कारबाही हुन्छः उपकुलपति

हिमालखबर

त्रिविका उपकुलपति महर्जनले नियम विपरित काम गरेकोले अनशनरत केसीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लबले १ फागुनमा राजधानीमा गरेको कार्यक्रममा उनले अनशनको समस्या हल भए पछि नियम विपरित काम गरेका केसीमाथि अनुसनधान गरेर कारबाही हुने बताए ।

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब ।

उनले तत्कालै अनशन फिर्ता लिन केसीलाई भनेका छन् । उनले भने, “अनशनले विद्यार्थी, शिक्षक र बिरामीलाई अप्ठ्यारो परिरहेको छ ।” उनले केसीको सबै माग पूरा गरेको पनि दावी गरे ।

केसीलाई अनशन बसेको ठाउँबाट हटाएर सेवा संचालन गर्ने जिम्मेवारी सरकार र प्रहरीको भएको उनको भनाइ छ । उनले त्रिविले गरेको निर्णयमा शिक्षण अस्पतालमा मात्र समस्या आउने गरेको बताए ।

उनले सर्च कमिटीको सिफारिस अनुसार नै त्रिवि कार्यकारी परिषदले अरु ईन्स्टीच्यूट र फ्याकल्टीमा डिन नियुक्ति गर्दा कुनै विवाद नआउने दावी गरे । “तर, नियुक्तिको विषयमा टिचिङमा चाँही अनशन बस्ने काम उपयुक्त होइन,” उनले भने ।

बर्खास्त गरेर देखाउन चेतावनी
आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीले त्रिविका पदाधिकारीको बर्खास्तीको माग गरेका बेला पदाधिकारीले भने आफूहरुलाई बर्खास्त गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । त्रिविका उपकुलपति हिराबहादुर महर्जनले आफूहरु नियम संगत रुपमा नियुक्त भएको दावी गर्दै अनशन बस्दैमा कसैले पनि आफूहरुलाई बर्खास्त गर्न नसक्ने ठोकुवा गरे ।

केसीले आरोप लगाउँदैमा कोही भ्रष्ट नहुने भन्दै उनले भने, “भ्रष्टाचारी प्रमाणित गरेर देखाए सामूहिक रुपमा राजीनामा दिन तयार छौं ।” उनले त्रिविको नियम अनुसार नै नियुक्ति प्रक्रिया अघि बढाएको पनि दावी गरे । “सम्बन्धित निकायले स्पष्टिकरण सोधे स्पष्टिकरण दिन तयार छौं,” उनले भने ।

आईओएम स्वायत्त होइन
कार्यक्रममा त्रिविका रेक्टर गुणनिधी न्यौपानेले त्रिविको विभागको रुपमा रहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) स्वायत्त हुन नसक्ने जिकिर गरे । उनले शिक्षण अस्पताल स्वायत्त हुनसक्ने भए पनि आईओएम स्वायत्त हुनै नसक्ने दावी गरे ।

उनले त्रिवि पदाधिकारीको बर्खास्तीको माग राख्दै भइरहेको अनशनमा षड्यन्त्र लुकेको जिकिर गरे । त्रिविका रजिष्टार चन्द्रमणी पौडेलले भने प्राडा केसीको अनशनले विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>