थप समाचारशुक्रबार, फाल्गुण २, २०७०
लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग
लखन थापाको १३७ औं स्मृति दिवसका अवसरमा २ फागुनमा आयोजित अन्तक्र्रियामा राणा शासक जंगबहादुर राणाको निरकुङ्श शासनविरुद्ध पहिलो विद्रोह गरेर राजनीतिक आन्दोलनको सुरुवात गरेको भन्दै उनलाई सहिद घोषणा गर्न माग गरिएको हो ।
प्रा डा दिनेशराज पन्तले दुई हजार वर्षदेखिको इतिहास हेर्दा नुवाकोट, सिम्रौनगढ र सिराहा गरी तीनवटा शक्तिशाली राज्य रहेकामा पृथ्वीनारायण शाहले तीनलाई जोडेर नेपाल राज्य बनाएको उल्लेख गर्दै यो इतिहासको क्रममा निरङ्कुशताविरुद्ध लड्ने पहिलो व्यक्ति लखन थापा नै भएकाले उनलाई पहिलो सहिद घोषणा गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले तत्कालीन राजनीतिक रूपमा विद्रोह गरी अरूलाई चेतना प्रदान गरेको र थापालाई प्रथम सहिदले विभूषित गर्नु पर्नेमा जोड दिए ।
सभासद् डा कृष्णबहादुर थापाले आफूले संसदबाटै लखन थापालाई प्रथम सहिद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्का सभासद् शिवलाल थापामगरले जंगबहादुरको निरङ्कुशताविरुद्ध लडेकै कारण उनको हत्या गरिएकाले उनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने बताए ।
प्रतिष्ठानका सभापति रुलबहादुर आले मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम् प्राध्यापक बाबुरामसिंह थापाले लखन थापा राजनीतिक आन्दोलनका साधक भएकाले उनलाई सहिद घोषणा गर्नुपर्नेमा जोड दिए ।रासस
