समाचारआइतबार, साउन २८, २०६९
दाहालको फेरी प्रधानमन्त्री बन्ने चालः ओली
सप्तरी सदरमुकाम राजविराजमा २८ साउन बिहान एमाले अगुवा कार्यकर्ता भेटघाटका क्रममा नेता ओलीले यस्तो धारणा राखेका हुन । ललितपुरमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालको संविधानका विवादित विषयमा सहमति नभई कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने भन्ने भनाईप्रति ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत नगरेकै कारण बाबुराम भट्टर्राई नेतृत्वको सरकारको आयु लम्बिएको ओलीको भनाई छ । उनले सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने भनिए पनि आन्तरिक किचलोका कारण उम्मेदवारी तय गर्न नसकेकाले वर्तमान सरकारले अहिलेसम्म निरन्तरता पाएको दाबी गरे ।
प्रेस चौतारी सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले पार्टीका असन्तुष्ट जनजाति नेतालाई विदेशीले ब्यालुनमा भरिदिएको हावाकै भरमा उडिरहेको टिप्पणी गरे । उनले भने, “विदेशीले हावा भरुन्जेल उहाँहरु उड्नुहुन्छ, जब विदेशीले हावा दिन छाड्छ तब लड्नुहुन्छ ।” रासस
