समाचारशनिबार, फाल्गुण ३, २०७०

कांग्रेस–एमाले सक्दैनन् भने हामी तयार छौं: एमाओवादी

हिमालखबर

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना पूरा हुन लाग्दासमेत सरकार गठन प्रक्रियाले पूर्णता पाउन नसक्दा एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतामा खिया लाग्न लागेको भन्दै एमाओवादीले प्रमुख दुई ठूला दलले मुलुकलाई निकास दिन नसक्ने भए आफूहरु तयार रहेको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ फागुनमा आयोजित सञ्चारकर्मीसँग भेटको अवसरमा एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सरकार गठन गर्न कांग्रेस र एमाले असफल भए त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताए ।

उनले भने, “मुलुकलाई सरकार विहीनताको अवस्थामा राख्न सकिँदैन, सरकार गठन गर्न कांग्रेस, एमालेले नसके संविधानसभाले नयाँ विकल्प खोज्छ, विकल्प खोज्नुपर्दछ, विकल्पका लागि एमाओवादी तयार छ ।”

उनले संविधानसभा निर्वाचनको क्रममा जनताका सामु गरेको प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान निर्माण नहुने आशङ्का बढेर गएको भन्दै तत्काल संविधान निर्माणमा केन्द्रित हुन संविधानसभा र व्यवस्थापिका–संसद्लाई आग्रह गरे ।

संविधान निर्माणमा सहजता प्रदान गर्नका लागि एमाओवादीलाई सभामुख दिनुपर्ने तर्क गर्दै उनले अन्तरिम संविधानले मुलुकलाई सहमतिमा चलाउने भन्ने व्यवस्था गरेका कारण कांग्रेस र एमालेले हरेक पदमा भागबन्डा गर्न नपाउने बताए ।

“मुलुक सहमतिमा चलाउनु पर्दछ, दुई दलको आफूखुसी चलाउने भन्ने गैरसंवैधानिक प्रवृत्तिलाई स्वीकार गर्न सकिँदैन, संविधानसभामा रहेका दल र संविधानसभाभन्दा बाहिर रहेका सबै दललाई समेटेर अगाडि बढ्नु पर्दछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>