थप समाचारआइतबार, फाल्गुण ४, २०७०

मुस्ताङबाट तिब्बतको कोरोलासम्म यसै वर्ष सडक पुग्ने

हिमालखबर

म्यादीको बेनी बजारदेखि मुस्ताङ जिल्लाको चीन जोड्ने सिमाना कोरोलासम्मको कुल १७५ किलोमिटर सडकखण्डमध्ये ट्र्याक खोल्न दुई किलोमिटर मात्रै बाँकीे छ । चालु आवको अन्त्यसम्म सडक सञ्जाल जोडिने र मर्मत सम्भार गर्नुपर्ने कामसमेत पूरा हुने योजना आयोगले जनाएको छ ।

आयोगका सचिव युवराज भुसालले दिएको जानकारीअनुसार दुवै छिमेकी मुलुक चीन र भारत जोड्ने वैकल्पिक मार्गसमेत रहेको सडक निर्माण अहिले तिव्रहरुपमा चलिरहेको छ ।

सचिव भुसालले यो सडक खुलेपछि दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने र व्यापार बढ्ने बताए ।

सडकखण्डअन्तर्गत माथिल्लो मुस्ताङसम्म सवारी साधनहरु चलिरहेका छन् भने केही स्थानमा पुल निर्माण गर्न बाँकी छ । पुल नभएका कारण वर्षात्को समयमा सवारी साधन सञ्चालन गर्न अप्ठ्यारो भएको र आयोगले अत्यावश्यक स्थानमा पुल निर्माणको सम्भाव्यतासमेत अध्ययन गरिरहेको सचिव भुसालले जानकारी दिए ।

यस्तै कालीगण्डकी कोरिडोरको कुल ४३५ किलोमिटर खण्डमध्ये गैँडाकोटदेखि थामबेसी–बुलिङ्गटार–डेढगाउँ–रकुवा हुँदै बाकामलाङ ७५ किमि खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

बाकामलाङदेखि रिडीको कुल ८८ किलोमिटर सडकखण्डअन्तर्गतको पाल्पाखण्डको कामसमेत सम्पन्न हुने चरणमा छ ।

रिडी–रुद्रवेणी–अर्बेनी पूर्तिघाट–पालुङखोला ४४ किलोमिटर गुल्मीखण्ड र पालुङखोला–बेलबगर–लौवा–सुम्सा–बाँझखेत–जैमिनीघाट हुँदै मालढुङ्गासम्मको ३८ किलोमिटर सडकखण्डअन्तर्गत १३ किलोमिटर सडकखण्डको ट्र्याक खुल्न बाँकी रहेको छ । सो ट्र्याकअन्तर्गत पर्ने केही स्थानमा कडा चट्टान भएपनि नेपाली सेनाले काम गरिरहेका कारण चालु आर्थिक वर्षमा काम सम्पन्न हुने विश्वास लिइएको छ ।

बाग्लुङदेखि म्याग्दी सिमानामा एउटा पक्की पुल निर्माण हुने भएको छ । सचिव भुसालका अनुसार कालीगण्डकी कोरिडोरअन्तर्गत राम्दी–रानीघाट सडकखण्डको १० किलोमिटर र पालुङखोला–बेलबगरको ६ किलोमिटर क्षेत्रमा पनि चालु आवमा ट्र्याक खोलिएपछि सो कोरिडोरअन्तर्गतका सबै क्षेत्र सडक सञ्जालमा जोडिने छ ।

उता कालीगण्डकी लोकमार्गअन्तर्गतको कुल ७० किलोमिटर सडकखण्डमध्ये सिद्धार्थ राजमार्गको बर्तुङबाट तानसेन बतासे हुँदै रानीघाटसम्मको सडक बहुवर्षीय ठेक्का स्वीकृतिका लागि आयोगले सहमति दिइसकेको छ ।

रानीघाटबाट बिर्घा हुँदै सेतीबेनी स्याङ्जाखण्डको कुल २७ किलोमिटरमध्ये करिब तीन किलोमिटरमा ट्र्याक खुल्न बाँकी रहेको र अन्य स्थानमा सवारी साधन सञ्चालनमा छ । बाँकी रहेको ट्र्याकसमेत चालु आवमा पूरा हुनेछ ।

सेतीबेनीबाट पर्वतको बाच्छाव्याधी हुँदै फलेवास–मुडिकुवा–अर्मादी–मालढुङ्गाअन्तर्गतको पर्वतखण्डको जम्मा ४३ किलोमिटर सडक निर्माण पूरा भइसकेको र सो सडकखण्डमा करिब पाँच किलोमिटरमात्र ट्र्याक खुल्न बाँकी रहेको छ । सचिव भुसालका अनुसार सो सडकखण्डको ट्र्याक खोल्ने कामसमेत चालु आवमा सम्पन्न हुनेछ ।

यी सडकखण्ड पूर्ण रुपमा निर्माण सम्पन्न भएपछि पश्चिमाञ्चल क्षेत्रमा विकासले गति लिने र राष्ट्रिय लक्ष्यसमेत पूरा हुने विश्वास आयोगले लिएको छ । कतिपय स्थानमा मुआब्जाका कारण सडक निर्माणमा बाधा उत्पन्न भएपनि पछिल्ला दिनमा विकासप्रति स्थानीय जनताको सचेतताका कारण सहज भएको सचिव भुसालको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>