थप समाचारआइतबार, फाल्गुण ४, २०७०

हराएको विमान अझै फेला परेन

हिमालखबर

पछिल्लो पटक १:४३ बजे भैरहवा विमानस्थलसँग सम्पर्क गरेको विमानले रुकुमको खारामाथि भएको जानकारी गराएपछि सम्पर्कविहिन बनेको थियो ।

चालकदलका ३ सदस्य र १५ जना यात्रु बोकेको उक्त विमान अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको अनुमान गरे पनि त्यसक्षेत्रमा खोज्दा फेला नपरेको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको खिदिमस्थित जंगलबाट धुवाँ आइरहेको खबर र विमानमा रहेको यात्रुहरुको मोबाइलको सिग्नलले पनि त्यसै क्षेत्रतर्फ संकेत गरेकाले प्रहरी त्यसतर्फ परिचालित गरिएको थियो । प्रहरीले खिदिमलगायत आसपासका ढावा, मालिका मन्दिर, हर्राबोट लगायतका स्थानमा खोजी गरे पनि विमान नभेटिएको जनाएको छ ।

शुरुमा नेपाली सेनाको विमान काठमाडौंबाट खोजीका लागि गए पनि प्रतिकुल मौषमका कारण फर्किएको थियो । त्यसपछि नेपालगञ्जबाट गएको फिस्टेल एअरको हेलिकप्टरले खोजी गरिरहे पनि वर्षा र कुहिरोका कारण हेलिकप्टर अवतरण गर्न सकेको छैन । नेपाली सेना र प्रहरीलाई पनि पानी र कुहिरोले खोजी कार्यमा रुकावट उत्पन्न गराएको छ ।

यात्रुहरुको नामावली

१. शंकर श्रेष्ठ (पाइलट, हेटौंडा)
२. रवीन्द्र बन्जारा (को-पाइलट)
३. मुना महर्जन (विमान परिचारिका, काठमाडौं)
४. मानव सेजुवाल (कांग्रेस जिल्ला सभापति जुम्ला )
५. गौरी कठायत (पत्रकार, जुम्ला)
६. टेकबहादुर महतरा
७. नन्दा महतरा
८. डी महतरा
९. वर्षा हमाल न्यौपाने
१०. उमा तामाङ
११. डा विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख)
१२. डीपी उपाध्याय
१३. राजेन्द्रप्रसाद देवकोटा (म्यानेजर, कृषि विकास बै‌क जुम्ला)
१४. दीपक श्रेष्ठ (नेपाली सेनाका मेजर)
१५. डि शाही
१६ आर चौलागाइँ
१७. एम म्याथिसेन (डेनमार्कका नागरिक)
१८.  बालक (बर्षा हमालका छोरा दीपु न्यौपाने)

——————————————————————————————————————-

हराएको विमान अर्घाखाँचीमा दुर्घटना भएको हुनसक्ने

पोखराबाट जुम्ला जाँदै गरेको  नेपाल वायुसेवा निगमको जहाज अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ।

हिमालखबर

आईतबार , ४ फागुन २०७० ६:०० पम

पोखराबाट जुम्लाका लागि उडेको जहाज अर्घाखाँची र पाल्पको सीमामा पर्ने खिदिममा दुर्घटना भएको हुनसक्ने भन्दै ‘केन्द्र’बाट खबर आएकोले त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको अर्घाखाँचीका सहायक जिल्ला अधिकारी भेषराज खनालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्दार शाखा र पर्यटन मन्त्रालय त्यस्तो अाशंका गरेको हो । दुर्घटना भएको स्थानबाट धुवाँको मुस्लो देखिएकोले पनि जहाज त्यहीं खसेको अनुमानलाई बल पुगेको छ । तर वर्षा र कुहिरोले गर्दा उद्दारका लागि गएको हेलिकप्टर त्यसक्षेत्रमा अवतरण गर्न सकेको छैन ।

खनालका अनुसार खिदिम प्रहरी चौकीले समेत दुर्घटना बारे थाहा नभएको सूचना दिएकाले त्यसक्षेत्रमा खोजीकार्यका लागि सदरमुकाम सन्धीखर्कबाट प्रहरी परिचालन गरिएको छ ।

खिदिम सदरमुकामबाट २५ किलोमिटर टाढा पर्ने र पानी परेकाले सवारी साधन जानसक्ने अवस्था नभएको खनालको भनाई छ ।

“अहिले सशस्त्र र सेना पनि तयारी अवस्थामा छन्, त्यस्तो सूचना सुनिश्चित भयो भने तुरुन्तै खटिनेछन्,” खनालले भने ।

फिस्टेल एअर र नेपाली सेनाको हेलिकप्टर पनि हराएको जहाजको खोजी गरिरहेका छन् ।

—————————————————————————————————————

जुम्लाका लागि उडेको जहाज १८ यात्रुसहित वेपत्ता

काठमाडौंबाट जुम्लातर्फ उडेको नेपाल वायुसेवा निगमको जहाज वेपत्ता भएको छ । विमानले पछिल्लो समय भैरहवा विमानस्थलमा सम्पर्क गरी रुकुमको खारामाथि रहेको जानकारी गराएको विमानस्थलले जानकारी दिएको छ ।

हिमालखबर

आईतबार , ४ फागुन २०७० २:०० पम

काठमाडौंबाट ४ फागुन दिउँसो जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज पोखरामा रिफ्युलिङ गरी १२:४३ मा उडेको र १:१३ बजेदेखि सम्पर्कविहिन भएको निगमका पोखरा प्रमुख महेश मोक्तानले जानकारी दिए ।

१८ जना सवार विमानमा ३ जना चालक दलका सदस्य सहित १५ जना यात्रु थिए।

१ बजेर १३ मिनेटमा भैरहवा टावरसँग सम्पर्क भएको जहाजले आफू रुकुमको खारामाथि रहेको बताएको मध्यपश्चिमाञ्चल डिआइजी केशबहादुर शाहीले जानकारी दिए ।

त्यसपछि भने सम्पर्क नभएको भैरहवा विमानस्थलले जानकारी दिएको छ ।

चालक दलमा क्याप्टेन शंकर श्रेष्ठ, को पाइलट रविन्द्र बञ्जारा, परिचारिका मुना महर्जन छन् । जहाजको खोजीकार्य भैरहेको छ।

सन् १९७५ मा नेपालमा ल्याइएको क्यानाडेली ट्वीनअटर DHC6 विमान नेपालमा उड्ने जहाजहरुमा सबैभन्दा पूरानो हो । यद्दपी नेपालको पर्वतीय क्षेत्रमा उडान भर्न यो जहाज राम्रो मानिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>