समाचारबुधबार, फाल्गुण ७, २०७०
प्रधानमन्त्रीः को कहाँका
प्रस्तुतिः सुरेशकुमार भट्ट
- नेपालमा पुस महीनामा कोही प्रधानमन्त्री भएका छैनन् । पुसमा हटाइएका प्रधानमन्त्री चाहिं बीपी कोइराला हुन् ।
- महीनाको हिसाबले नेपालमा जेठ र चैतमा सात–सात, साउनमा पाँच, असार, भदौ, मंसीर, माघ र फागुनमा तीन–तीन, वैशाख र असोजमा दुई–दुई र कात्तिकमा एक जना प्रधानमन्त्री भए । त्यस्तै महीनाको हिसाबले नेपालमा जेठ र असारमा ६–६, चैतमा ५, साउनमा ४, वैशाख, मंसीर र फागुनमा ३–३, भदौ, असोज र माघमा दुई–दुई, कात्तिक एक र पुसमा एक प्रधानमन्त्री पदमुक्त भए ।
- जातीय हिसाबले प्रधानमन्त्री वा मूलकाजी भएकामा चौतरिया, दरबारिया बाहेकका ३८ जनामध्ये ब्राह्मण १४, क्षेत्री सात, राणा कुँवर क्षेत्री १२, ठकुरी तीन, नेवार एक, सन्न्यासी एक गरी ३८ जना छन् ।
- ३६ जना प्रधानमन्त्रीमध्ये नामको अगाडि डा. लेख्ने के.आई. सिंह र तुलसी गिरी मेडिकल डाक्टर हुन् भने बाबुराम भट्टराई विद्यावारिधि ।
- प्रधानमन्त्री भएकामध्ये रणजंग पाण्डे र डा. बाबुराम भट्टराई खोप्लाङ, गोरखाका हुन् । त्यसैगरी भीमसेन थापा र माथवरसिंह थापा बोर्लाङ, गोरखाका हुन् ।
- पुख्र्यौली घर गोरखा भएका प्रधानमन्त्री हालसम्म १९ जना छन् । यसैगरी पुख्र्यौली घर सिन्धुली भएका प्रधानमन्त्री हालसम्म ४ जना (सबै कोइराला परिवारका सदस्य) छन् ।
- बारका हिसाबले सोमबार १० पटक, बिहीबार र शुक्रबार सात–सात पटक, आइतबार र बुधबार पाँच–पाँच पटक, मंगलबार तीन पटक र शनिबार दुई पटक प्रधानमन्त्रीको पदभार ग्रहण भएको छ ।
- नेपालमा गत २०७ वर्षमा ६२ पटक प्रधानमन्त्री हेरफेर हुँदा बडाकाजी कालु पाँडेदेखि खिलराज रेग्मी अध्यक्ष सम्म ३६ जनाले सरकसार चलाएका छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट


