थप समाचारबिहीबार, फाल्गुण ८, २०७०
फिदिमबासीको तिर्खा मेट्ने योजना अधुरै
बर्षौंदेखि खानेपानीको समस्या रहेको फिदिम बजारका वडा नम्वर १ देखि ५ सम्मका उपभोक्ताका घर घरमा धारा पुर्याउने उद्देश्यले निर्माण हुन लागेको आयोजना निर्माण कम्पनीको लापरवाहीका कारण प्रभावित भएको छ ।
आयोजना निर्माण गर्ने जिम्वेवारीे शर्मा एण्ड महादेव खिम्ति जेभी कम्पनीले लिएको थियो । तर उक्त कम्पनीका प्रमूख रमेश शर्मा सम्झौतापछि पेश्की रकम लिएर सम्पर्क बाहिर रहेपछि आयोजनाको काम १३ प्रतिशतमै सिमित छ ।
नेपाल सरकारसँग कम्पनीले गरेको सम्झौतामा उक्त आयोजना २०७१ असारमा सम्पन्न गर्ने सहमति भएको थियो । सम्झौतापछि आयोजनाका लागि आयात गरिएका पाइप जिल्ला विकास समिति पाँचथरको खुल्ला चौरमा अलपत्र परेका छन ।
निर्माण कम्पनीले नेपाल सरकारसँग सन २०१४ जुन ३० भित्र काम सम्पन्न गर्ने लिखित सम्झौता गरेको थियो । २०१२ को जुलाइ १४ मा सम्झौता भए लगत्तै कम्पनीका प्रमूख शर्माले १ करोड २३ लाख रुपैया पेश्की समेत लिएका थिए । आयोजनाले हालसम्ममा कार्र्यालय स्थापना, शौचालय निर्माण र पानी प्रशोधन केन्द्र भने निर्माण गरेको छ । यो सवै कामको मुल्यांकन गर्दा कुल आयोजनाको १३ प्रतिशत हुन आँउछ ।
“हालसम्ममा आयोजनाको ७५ प्रतिशत काम सकिइसक्नुपर्ने थियो, तर १३ प्रतिशत काम भएर रोकिएकाले पुरा हुने सम्भावना टर्यो,” आयोजनाका डिजाईन तथा सुपरभिजन परामर्शदाता (डिएससि) ज्ञानु रिजालले भने ।
यस अघि कम्पनीले ल्याएका डिआई पाइप मापदण्ड अनुसारका नपाइएकाले फिर्ता गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सूर्य वास्कोटाको भनाई छ ।
साढे सत्ताइस किलोमिटर दुरीमा पर्ने छिमेकी रानिटार गाविसको मुहानवाट सदरमुकाममा पानी ल्याएर उपभोक्ताका घर घरमा वितरण गर्ने लक्ष आयोजनाको छ ।
केहि दिन अघि जिल्लाका राजनितीक दल र सरोकारवालाको वैठकले आयोजनाको काम अघि वढाउनका लागी दवाव दिने निर्णय समेत गरेको छ ।
लक्ष्मी गौतम, पाँचथर

