समाचारबिहीबार, फाल्गुण ८, २०७०
अठारौँ सार्क सम्मेलन नेपालमा हुने, महासचिवमा अर्जुनबहादुर थापा
मालदिभ्सको बान्डोस टापुमा ८ फागुनमा भएको सार्क मन्त्रिपरिषद् बैठकमा नेपालले आगामी नोभेम्बर (कात्तिकको दोस्रो सातादेखि मंसीरको दोस्रो साताभित्र) १८ औं सार्क शिखर सम्मेलन गर्ने प्रस्ताव गरेको छ ।
शिखर सम्मेलनका लागि नेपालले गरेको प्रस्तावप्रति बैठकले समर्थन जनाउनुका साथै त्यसको स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले सार्कका महासचिवमा पूर्व परराष्ट्रसचिव अर्जुनबहादुर थापाको मनोनयनलाई पनि अनुमोदन गरेको छ ।
पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १७ फागुनदेखि सार्क महासचिवको पदभार ग्रहण गर्नेछन् ।
बैठकमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्रीको सहभागिता थियो भने नेपालको प्रतिनिधित्व निमित्त परराष्ट्रसचिव शङ्करदास वैरागीले गरेका थिए ।
बैठकमा सार्कअन्तर्गत क्षेत्रीय सहयोगका प्रमुख विषयका साथै व्यापार, वित्त, लगानी, गरिबी निवारण, सम्पर्क विस्तार, ऊर्जा र पूर्वाधारबारे विचारविमर्श भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्षेत्रीय सहयोग प्रवद्र्धनलाई अझ सुदृढ बनाउन बैठकमा मतैक्यता जाहेर भएको थियो ।
