थप समाचारशुक्रबार, फाल्गुण ९, २०७०
ओबामाले दलाई लामासँग भेट्ने, चीनको कडा विरोध
हाल अमेरिकामा रहेका दलाई लामालाई राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा भेटघाट गर्न लागेका हुन् ।
अमेरिकी राष्ट्रपति कार्यालयको भुइँतलामा रहेको ‘म्याप रुम’ मा उनले सो भेटघाट गर्न लागेका हुन् । ‘म्याप रुम’ ओबामाको निवास हो र उनले प्रायः विदेशी नेताहरुलाई त्यहीं भेट्ने गर्छन् ।
उनले यसअघि दलाई लामालाई सन् २०११ मा ह्वाइट हाउसमा नै भेट गरेका थिए । त्यसबेला पनि चीनले विरोध जनाएको थियो ।
चीनले दलाई लामासँगको अमेरिकाको सम्बन्धलाई कहिल्यै पनि राम्रो मान्ने गरेको छैन ।
दलाई लामा नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्ति पनि हुन् । उनी तिब्बती नेताका साथै धार्मीक गुरुका रुपमा पनि चिनिन्छन् ।
चीनको कडा विरोध
चिनियाँ विदेश मन्त्रीले दलाईलामासँगकोे भेट तत्कालै रद्द गर्न अमेरिकी राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयले ९ फागुनमा प्रकाशन गरेको विज्ञप्तिमा उक्त भेटघाटको कडा शब्दमा विरोध गर्दै यो भ्रमण चीन–अमेरिका सम्बन्धको विपरीत रहेको उल्लेख छ ।
“हामी यस विज्ञप्तिमार्फत अमेरिकासँग राष्ट्रपति बाराक ओबामा र दलाई लामाबीचको भेट स्थगित गर्दै चीनको यो आग्रहको सम्मान गरियोस् भन्ने चाहन्छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि सन् २०११ मा अमेरिकाका राष्ट्रपतिले दलाई लामालाई भेट गरेपछि लामै समयसम्म यी दुई देशको सम्बन्धमा चिसोपना आएको थियो ।
दलाई लामा स्वतन्त्र तिब्बतको माग गरी विगत लामो समयदेखि नै निर्वासनमा रहँदै आएका छन् ।
एएफपी

