समाचारशुक्रबार, फाल्गुण ९, २०७०
चाँडै मन्त्रिमण्डल विस्तार हुन्छः कोइराला
व्यवस्थापिका–संसद्को ९ फागुनमा बसेका बैठकमा विभिन्न पार्टीका सभासद्ले नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई बधाई तथा शुभकामना दिएपछि सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सरकारमा अधिकतम दलको सहभागिता सहित मन्त्रिपरिषद विस्तार चाँडै गरिने बताएका छन् ।
उनले दलहरुबीच आपसी संवादबाट यो समस्याको शीघ्र व्यवस्थापन गरिने बताए । उनले राष्ट्रपतिले गत साता आफूलाई सातबुँदे निर्देशन दिएको भनी उठेको आवाजका सम्बन्धमा स्पष्ट पार्दै त्यसलाई नियमित भेट र समसामयिक विषयप्रति राष्ट्रपतिको चिन्ताका रुपमा लिन आग्रह गरे ।
कोइरालाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निर्वाचनका समयमा सदनमा देखिएको उच्च सहमतिको संस्कारको प्रशंसा गर्दै नेम्वाङलाई एक वर्षभित्र संविधान जारी गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे ।
सभासद्हरुले आफूलाई दिएको शुभकामना, गुनासा र आलोचनाबाट प्रेरणा लिँदै पारदर्शिता, सुशासन, जिम्मेवारीपन र शान्ति स्थायित्वका साथै एकवर्षभित्रै संविधान जारी गर्ने कामलाई प्राथमिकता दिइने जानकारी दिए ।
