समाचारशनिबार, फाल्गुण १०, २०७०
जाजरकोट विष्फोटका घाइते चँदाराको मृत्यु
हिंसात्मक द्वन्द्वका बेला माओवादीले जंगलमा छाडेको पाइपबम स्थानीय जोखे थापाले भेटाएपछि त्यसबाट ओदान बनाउन फलामको आरन चलाउने कमारो चँदारालाई दिएका थिए । ८ फागुनमा उक्त पाइप आरनमा राखेर पगाल्न खोज्दा विष्फोट भई ६ जना गम्भीर घाईते भएका थिए ।
घाइतेहरुलाई सभासद राजीव शाहीको पहलमा नेपाली सेनाको हेलिकप्टरले काठमाडौं ल्याएको थियो । उपचारका क्रममा १० फागुन विहान आरने कमारो चँदाराको मृत्यु भएको हो । उनको दाहिने हातको कुहिनोभन्दा तलको भाग चुँडिएको थियो शरिरभरी बमका छर्रा लागेको थियो ।
विष्फोटबाट घाइते भएका दशेरा–३ तल्लो गाउँका ३५ वर्षीय जोखे थापा, ३५ वर्षीय भक्तबहादुर नेपाली, ३३ वर्षीय नरसिंह थापा, ३५ वर्षीय मनबहादुर थापा र १५ बर्षीय नैनबहादुर नेपालीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अनुहार पूरै जलेको छ भने अनुहार, टाउको र छातीमा बमका छर्रा लागेको छ ।
