समाचारआइतबार, फाल्गुण ११, २०७०

गौतमको नेतृत्वमा एमाले सरकारमा जाने, वार्ता सकारात्मक

हिमालखबर

११ फागुनमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई अनुमोदन गरेको छ । यसअघि स्थायीसमितिको निर्णयपछि २६ माघमा कांग्रेस र एमाले शीर्ष नेताहरुबीच उक्त सहमति भएको थियो ।

“७ बुँदे सहमतिका बुँदाहरु र त्यससँगै भएका मौखिक सहमति समेतप्रति आफू प्रतिवद्ध भएको भन्ने प्रधानमन्त्री सुशील कोइरालाको सन्देश आएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका हैसियतमा उपाध्यक्ष वामदेव गौतमले सरकारमा नेतृत्व गर्नु हुनेछ,” एमाले केन्द्रीय सदस्य भानुभक्त ढकालले भने ।

“यसअघि पनि हामीहरुले सरकारमा नजाने भनेको हैन तर, कांग्रेसले ७ बुँदे सहमतिको उल्लंघन गरेकाले सरकारमा नगएको हो,” ढकालले थपे, “अब प्रधानमन्त्रीबाट उक्त सहमतिका बुँदाहरु र त्यसबेला भएका मौखिक सहमतिहरु समेत पालना गर्ने  प्रतिवद्धता जनाएपछि  एमाले सरकारमा जान्छ ।”

गृहमन्त्रालय नपाउँदासम्म सरकारमा नजाने भन्ने एमालेको माग र गृह एमालेलाई नदिने भन्ने प्रधानमन्त्री सुशील कोइरालाको अडान कायमै रहँदा कोइराला प्रधानमन्त्री भएको करिब दुई हप्ता पुग्दासम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

आफ्नै दलभित्र पनि शेरबहादुर देउवापक्षसँग सहमति गर्न  नसकिरहेका कोइरालाले गृहमन्त्रालाय एमालेलाई दिएरै भए पनि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

वार्ता सकारात्मक, आन्तरिक छलफलपछि फेरि वार्ता गर्ने

गृहमन्त्रालय एमालेले पाउने भए पनि अन्य मन्त्रालयहरुको बारेमा टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीचको वार्ता आन्तरिक छलफल गरी निक्र्योलमा पुग्ने सहमतिका साथ स्थगित भएको छ ।

“वार्ता सकारात्मक भएको छ, भोली विहान फेरि छलफल गरी टुंगामो पुग्छौं,” एमाले उपाध्यक्ष एवम् वार्ता टोलीका सदस्य वामदेव गौतमले भने ।

११ फागुनमा काठमाडौंको द्वारिका होटेलमा भएको वार्तामा कांग्रेसका तर्फबाट कृष्ण सिटौला,  रामशरण महत,  दीपकुमार उपाध्याय र मिनेन्द्र रिजाल सहभागी थिए भने एमालेका तर्फबाट वामदेव गौतम, विष्णु पौडेल र अग्नि खरेल थिए ।

वार्तामा कुरा मिल्यो भने १२ फागुनमा मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहेको एमाले केन्द्रीय सदस्य ढकालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>