समाचारमंगलबार, फाल्गुण १३, २०७०

रातारात को को हटाइए ?

हिमालखबर

१२ फागुन राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस संस्थापन पक्षबाट मन्त्रिमण्डलमा सहभागी गराउनेको नाम टुंग्याएको पन्ध्र घण्टा नबित्दै नयाँ अनुहारका मन्त्री नियुक्त भएका छन् । रातारात आफ्नो नाम काटिएपछि कांग्रेस संस्थापन पक्षभित्र असन्तुष्टी बढेको छ ।

बालुवाटार स्रोतका अनुसार राति अबेर प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा बालुवाटारमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेलले मधेशका तर्फबाट पदमनारायण चौधरीको नाम प्रस्ताव गरेका थिए । तर महामन्त्री कृष्णप्रसाद सिटौलासहितका केही नेताहरुको दबाबमा प्रधानमन्त्री कोइरालाले मन्त्रीको सूचीबाट चौधरीको नाम हटाएका थिए ।

यसैगरी मुसलमान समुदायका तर्फबाट फरमुल्लाह मन्सुरको नाम राखिए पनि अन्तिम समयमा हटाइएको थियो । प्रधानमन्त्री कोइरालाले उपसभापति पौडेलको दबाबमा महेश आचार्य र महामन्त्री सिटौलाको दबाबमा मिनेन्द्र रिजाललाई मन्त्री बनाइएको चर्चा बालुवाटार र संबिधानसभा परिसर नयाँ बानेश्वरमा दिनभर चलेको थियो ।

यसैगरी मन्त्रिमण्डको सूचीबाट नेता अर्जुननरसिं केसीको नाम पनि अन्तिम समयमा काटिएको बताइएको छ । जसका कारण नेता केसी कोइरालासंग असन्तुष्ट मात्र भएनन् आफूले कयाम्प परिबर्तन गरेको घोषणा नै गरेका थिए ।

देउवा खेमाले जाति, बर्ग र क्षेत्रको प्रतिनिधित्व गराउँदै मन्त्रीको नाम दिएपनि संस्थापन खेमाबाट यसलाई पूर्ण बेवास्ता गरिएको चर्चा कांग्रेसबृत्तमा छ । देउवाले मधेशबाट बिमलेन्द्र निधी, महिलाबाट चित्रलेखा यादब, जनजातिबाट टेकबहादुर गुरुङ, र सुदुरपश्चिमबाट एनपी साउदलाई मन्त्री बनाएका छन् ।
तर संस्थापन खेमाबाट भने महिला, मधेश र जनजातिप्रति उपेक्षा गरिएको कांग्रेस नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>