समाचारबुधबार, फाल्गुण १४, २०७०
‘कि न्याय देऊ, नभए मर्न देऊ’
छोराका हत्यारालाई कारवाही गरी न्याय पाउनुपर्ने माग राख्दै घर परिवार र व्यवहार छोडेर वर्षौदेखि भौंतारिएका गोरखा फुजेल–७ का अधिकारी दम्पतीको माग यसअघिको सरकारले पूरा गर्ने भन्दै ४८ दिनपछि अनशन तोडाएको थियो । तर सरकारले आरोपी कसैलाई पनि मुद्दा नचलाएपछि उनीहरुले गत ८ कात्तिकदेखि पछिल्लो पटक फेरि अनशन शुरु गरेका हुन् ।
उनीहरुका छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पटकपटक गरी दुई जना माओवादी कार्यकर्ता पक्राउ परे पनि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुद्दा नै दर्ता नगरी त्यसै छाडिएको थियो ।
लामो समयको अनशनले गर्दा गलिसकेको उनीहरुको ज्यान बचाउन बेला बेला अक्सिजन दिनुपर्छ भने सलाइनको बोत्तल त सँधै झुण्डी नै रहेको हुन्छ । अस्पतालको बेडमा लडेकी गंगामाया भन्छिन, “यस्तो सास्ती नदेऊ, न्याय नदिने भए मर्न देऊ ।”
एसएलसी परीक्षा दिएर २४ जेठ २०६१ मा चितवनमा रहेका हजुरबा भेट्न पुगेका अधिकारी दम्पतीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीले अपहरण गरी यातना दिएर हत्या गरेका थिए ।
‘अन्तिम बेला’
लामो समयको अनशनले यसै पनि जीवन–मृत्युको दोसाँधमा रहेका अधिकारी दम्पतीको स्वास्थ्य ‘भन्न नसकिने अवस्था’ मा रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।
अहिले दुवै दम्पतीलाई ज्वरो बढ्दै गएको र शरीर लुगलुग काँप्न थालेपछि अस्पतालले आइसियुमा सार्न खोजिरहेको छ । उनीहरु भने आइसियुमा जान मानिरहेका छैनन् । वीर अस्पतालमा उनीहरुको स्याहार गरिरहेकी स्वयम्सेवी सम्पदा बोहरा भन्छिन्, “उहाँहरुको अन्तिम बेला भनेजस्तै अवस्था छ, तर पनि कसैले चासो देखाउँदैनन् अचम्म लाग्छ, कस्तो हो राज्य ? कस्ता भयौं हामी ?”
