समाचारबुधबार, फाल्गुण १४, २०७०
‘आमाघर’बाट ३१ बालबालिकाको उद्धार
जिल्ला प्रशासन कार्यालय काठमाडौं र केन्द्रीय बालकल्याण समितिको पहलमा काठमाडौंको रविभवनस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघर बाट ३१ बालबालिकालाई उद्धार गरिएको छ ।
आमाघरले बालबालिकालाई स्कुल नपठाई घरेलु काममा लगाएको, धर्मपुत्रपुत्रीका नाममा विदेशीलाई दिने गरेको, पोषणयुक्त खाना नदिएको र आमाघरलाई दाताहरुबाट आएको सहयोग–अनुदानको पनि दुरुपयोग भएका उजुरी समेत विभिन्न निकायमा परेका थिए ।
न्युनतम आधारभूत आवश्यकता पूरा नगरी, दुर्गन्धित घरमा बालबालिका राखेको जानकारी पाएपछि १४ फागुनमा उनीहरुको उद्धार गरिएको हो ।
श्रेष्ठले बालगृह सञ्चालनको स्वीकृतिसमेत नलिएको र बालबालिकालाई उच्च जोखिममा राखेकाले उद्दार गरेको बालकल्याण समितिले जनाएको छ ।
१३ फागुनमा मात्रै जिल्ला जिल्ला प्रशासन कार्यालयमा बयान दिन पुगेकी श्रेष्ठले आमाघरमा ३८ जना बालबालिका रहेको बयान दिए पनि १४ फागुनमा उद्धार टोलीले ३१ जना मात्रै बालबालिका फेला पारेको छ ।
बालकल्याण समितिका अनुसार उद्धार गरिएका बालबालिकालाई केही समय आवास गृहमा राखी अभिभावक र परिवार खोजेर जिम्मा लगाइने छ भने परिवार नभएकाहरुलाई आश्रयस्थलमा राखिने छ ।
