समाचारबुधबार, फाल्गुण १४, २०७०
दिलशोभा भन्छिन, “यौन दुराचार भएकै छैन”
१४ फागुनमा रविभवनस्थित ‘आमाघर’ मा पत्रकार सम्मेलन गरी सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले कसैलाई पनि यौन कार्यमा नलगाएको भन्दै त्यस्तो दाबी गर्नेले प्रमाण दिन चुनौति समेत दिएकी छन् ।
१४ फागुनको नागरिक दैनिकमा ‘दिलशोभाले आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको’ भन्ने समाचार प्रकाशन भएको थियो ।
दिलशोभाले कालिमाटी बस्ने बृद्धा राधिका मानन्धरको सेवाका लागि आफूकहाँ काम गर्ने धर्मकुमारी थापालाई १६ माघबाट १५०० मासिक पाउने गरी पठाएको बताइन् ।
“ कालिमाटीकी विरामी मानन्धर आमालाई साथी चाहिएकाले थापा गएकी हुन् त्यसैबेला टेलिफोनमा कुराकानी भएको हो,” उनले भनिन्, “त्यो कुराकानी चाहीँ यही घरमा काम गर्ने दुईजना कर्मचारीले टेप गरेर पत्रिकालाई दिएको हुनसक्छ ।”
उनले थापालाई छोरीहरु पढाउन रकम चाहिएको र आफूले दिएको रकमले नपुग्ने भएपछि बाहिर काममा पठाएको दाबी गरिन् ।
यसैबीच श्रेष्ठको आमाघरमा रहेका बालबालिकालाई दुर्गन्धित वातावरणमा राखिएको, न्युनतम मापदण्ड पूरा नगरिएको र बालबालिका जोखिममा रहेको भन्दै बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयको पहलमा त्यहाँ रहेका ३१ बालबालिकाको उद्धार गरिएको छ ।
दिलशोभाले भनिन, “मैलेभन्दा राम्रोसंग पाल्छु र पढाउँछु भनेर यहाँवाट लगेका छन् । बालबालिका लगेकोमा मलाई दुःख लागेको छैन । तर, म माथि यौन दुराचारको आरोप लगाएकोमा दुःख लागेको छ ।”
सम्बन्धित समाचार ‘आमाघर’बाट ३१ बालबालिकाको उद्धार
