समाचारबिहीबार, फाल्गुण १५, २०७०
आज शिवरात्रि, सेना दिवस पनि आजै
विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले शिवरात्रिमा पशुपति मन्दिरमा दर्शन तथा पूजा गर्नेहरुको घुइँचो छ । वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ ।
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी रु २०० देखि पाँच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्था समेत गरिएको जानकारी दिए ।
भारतको आसामस्थित कामरूप कामाक्षाबाट ११० वर्षका मिलनबाबा पनि पशुपतिमा आएको कोषले जनाएको छ ।
आजका दिन साधुसन्तहरु शीव मन्दिरको आसपास क्षेत्रमा धुनी जगाउँदै, शक्तिको पूजा गरी खरानी घस्ने तथा जीवन जगत्को चिन्तन तथा परमात्माको साक्षात्कारमा प्रयासरत् रहन्छन् ।
कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ ।
सेना दिवस पनि आजै
नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मुलुकभर आज ‘सेना दिवस’ मनाउँदैछ ।
सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।
सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
१८१९ सालबाट साङ्गठनिक स्वरूप शुरुवात भएको नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ ।
