थप समाचारबिहीबार, फाल्गुण १५, २०७०
शुक्रबार साँझदेखि मौसममा सुधार आउने
अरब सागरबाट आएको ओसिलो वायु तथा पश्चिमी वायुको प्रभावले देशभर बदली भई मौसममा केही दिनदेखि परिवर्तन आएको र १६ फागुन साँझबाट मात्रै मौसममा सुधार आउने मौसमविद् विद्यारत्न शाक्यले बताएका छन् ।
शाक्यका अनुसार अरब सागरबाट उच्च वायुमण्डल न्यून चापीय क्षेत्र बन्दै गएको र त्यो पश्चिमी भेगबाट मध्यभेग हुँदै पूर्वी भेगतर्फ सर्दै जाने क्रम चलिरहेको छ ।
पश्चिमी वायु पश्चिमी भेगबाट तथा अरबबाट आएको वायु पश्चिमी तराईबाट नेपालमा प्रवेश गरेको महाशाखाले रेकर्ड गरेको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा १५ फागुन राति हल्का वर्षा हुने अनुमान गरिएको छ । सुदूरपश्चिममा छिटफुट वर्षा भएको र सो क्रम शुक्रबार पनि जारी रहने छ ।
मौसमविद् शाक्यले वायुमण्डलमा न्यून चापीय क्षेत्र सर्दै जाने र शुक्रबार साँझसम्ममा देशभर मौसम सफा हुँदै जाने सङ्केत देखिएको जानकारी दिए ।
रासस
