थप समाचारशनिबार, फाल्गुण १७, २०७०

मिथिला माध्यमिकी परिक्रमा शुरु

हिमालखबर

फाइल तस्वीर: परिक्रमाको विश्रामस्थलमध्येको एक कञ्चनवनमा होली गीत गाउँदै श्रद्धालु ।

धनुषास्थित कचुरीको मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ धार्मिक झाँकी र भजनकीर्तनसहित सीमावर्ती भारतीय गाउँ कलानेश्वर हुँदै मिथिला माध्यमिकी परिक्रमा १७ फागुनबाट शुरु भएको छ ।

परिक्रमामा नेपाललगायत भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामलगायतका साधुसन्त, महन्थ र सर्वसाधारणको उल्लेख्य रुपमा सहभागिता रहेको छ ।

मिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतका २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर , जलेश्वर , क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा शुरु गरिएको हो ।

सो डोला भारत फुलहरको गिर्जास्थान हुँदै तेस्रो दिन २० फागुनमा महोत्तरीको मटिहानी आइपुग्ने छ । परिक्रमाका सहभागीहरू क्रमशः जलेश्वर, मडै, धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर पुगी फागुन पूर्णिमाका दिन जनकपुर फर्किन्छन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा गहिरो आस्था रहेको पाइन्छ ।

फाल्गुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमामा समापन गरिने परम्परा छ । सो परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मद्वारा भएका पाप नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।

मिथिला महात्म्यअनुसार अठारौं सताब्दीदेखि माध्यमिकी परिक्रमा मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीहरू राति भजनकीर्तन गरी १५ दिन बिताउने गर्दछन् ।

विश्वकै सर्वाधिक लामो समयसम्म चल्ने यस परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदैै धनुषाको पर्वता धनुषाधाम, सतोषर र औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूर्णिमाको बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यो यात्रा सम्पन्न गरिन्छ ।

परिक्रममा सहभागी हुनेहरूलाई सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वास रहेको छ ।

परिक्रमामा सहभागी हुनेहरूको सुविधाका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>