समाचारशनिबार, फाल्गुण १७, २०७०
भोजभतेरमा खर्च हुने १० लाख जेष्ठ नागरिकहरूको संस्थालाई दान

१७ फागुनमा सांकेतिक रूपमा मनाउँदै भोजभतेरमा खर्च नगरी रु.१० लाख जेष्ठ नागरिकहरूको संस्था एजिङ होमलाई दिएपछि बिहारीकृष्ण श्रेष्ठ श्रीमती डा. हिरामन प्रधानका साथमा । तस्बीरः डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर
तीन वर्षअघि पनि उनले सोसल साइन्स वहाःलाई अक्षय कोष स्थापनाका लागि एकमुष्ट रु.५० लाख दान दिएका थिए । “मेरा दौंतरीहरूले जन्को भोजमा रु.७/८ लाख खर्चेको देखेको छु” १७ फागुनमा ललितपुर, पाटनढोकाको यलमाया केन्द्रमा एजिङ नेपालका निर्देशक कृष्णमुरारी गौतमलाई रु.१० लाखको चेक हस्तान्तरण गरेका बिहारीकृष्ण भन्छन्, “मैले चाहिं जेष्ठ नागरिकहरूको सशक्तीकरण र अधिकारका लागि कोष खडा गर्न खर्चिएँ ।”
पूरै जीवन ग्रामीण विकासको क्षेत्रमा काम गर्दा नेपाली कुनाकन्दराका जेष्ठ नागरिकहरूको दुःख देखेकाले सानो योगदान गर्न मन लागेको उनले बताए । आफूले गरेको सांकेतिक जन्को देखेर अरूमा पनि यस्तै सेवाभाव जागोस् भन्ने उनको चाहना छ । २० माघ २०६७ मा सोसल साइन्स वहाःमा उनले स्थापना गरेको रु.५० लाखको कोषबाट नेपालको जातीय संरचना, भाषा–संस्कृति, परम्परा, विकास आदिका इथ्नोग्राफिक अध्येताहरूलाई फेलोसीप प्रदान गरिंदै आएको छ । उनलाई समाज सेवामा श्रीमती डा. हिरामन प्रधानले सहयोग गर्दै आएकीछिन् ।
बिहारीकृष्णलाई नजिकबाट चिन्नेहरू उनको सेवाभाव, अध्ययन र बौद्धिकताबाट प्रभावित छन् । उनीहरूका अनुसार, नेपालमा समुदायमा आधारित विकेन्द्रीकरण तथा आमा समूह र वन उपभोक्ता समूह स्थापनामा उनले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि कमै हुन्छ । २१ वर्षअघि उनले आफ्नी छोरी सत्याको बिहेको निम्तोपत्रमै ‘मेरी छोरीलाई कुनै दाइजो उपहार दिनुपर्दैन’ भनेर समाजमा परिवर्तनको बिगुल फुकेका थिए । त्यतिवेला उनले ‘केही दिने मन भए नगद देऊ’ भन्दै जुम्लाको हाडसिंजा–बोतान कृतज्ञता कोषको ब्याङ्क खातामा रकम जम्मा गराएका थिए । यसरी उनले छोरीको बिहेमा हाडसिंजा र बोतानको विकासको लागि दाइजोको रु.१ लाख, आफूले रु.१ लाख र निम्तालुहरुबाट जम्मा भएको रु.१ लाख ११ हजार उपलब्ध गराएका थिए । पछि सो कोषमा जम्मा भएको रु.५ लाखबाट हाडसिंजाका ४६ घरलाई खानेपानी उपलब्ध गराइएको छ भने बोतानमा महिला छात्रावास बनाइएको छ ।
२०१५ सालमा सामाजिक शिक्षा अधिकृतका रूपमा सरकारी जागीर शुरू गरेका बिहारीकृष्णले २०४८ मा अतिरिक्त सचिवबाट अवकाश पाए । आफ्नो कार्यकालमा देश र समाजका लागि अमिट छाप छाड्ने थोरैमध्येका सरकारी कर्मचारीमा पर्छन्, उनी । उनले स्थानीय विकास, राष्ट्रिय योजना आयोग, अर्थ, स्वास्थ्य र आवास मन्त्रालयदेखि तत्कालीन राजदरबारको जाँचबुझ् केन्द्रसम्ममा प्रभावकारी भूमिका खेलेका थिए ।
-डम्बरकृष्ण श्रेष्ठ
बिहारीकृष्णको बारेमा १८ फागुन २०७० को हिमाल खबरपत्रिकामा प्रकाशीत आलेखबाट ।
