समाचारआइतबार, फाल्गुण १८, २०७०
प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान
सम्मेलनमा भाग लिने १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला १८ फागुन दिउँसो म्यान्मार प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको रुपमा उनको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री कोइरालालाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उप–प्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, संविधानसभा अध्यक्ष, मन्त्री, कूटनीतिक नियोगका प्रमुख तथा उच्च सरकारी अधिकारी पुगेका थिए । विमानस्थलमा सञ्चाकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भ्रमण महत्वपूर्ण र परिणाममुखी हुने बताए ।
प्रधानमन्त्री कोइरालाले सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख सभागी हुने उक्त सम्मेलनलाई सम्बोधन गर्ने छन् । सम्मेलनमा बङ्गलादेशमा बिम्स्टेकको स्थायी सचिवालय स्थापना, त्यसको महासचिवमा सुमिथा नाकन्दलाको नियुक्ति तथा भुटानमा सांस्कृतिक उद्योग आयोग र सांस्कृतिक उद्योग अवलोकन केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिम्स्टेकले व्यापार तथा लगानी, प्राविधिक, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, प्रतिआतङ्कवाद, अन्तरदेशीय अपराध नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, गरिबी निवारण, जलवायु परिवर्तन र जनता–जनताबीचको सम्पर्क, विकासका विविध आयाम र साझा चासोका १४ विषयलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनमा भाग लिने क्रममा भारत र बङ्गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीेले विपक्षी नेत्री आङ सान सुचीसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वर्णानुक्रमअनुसार सङ्गठनको अध्यक्षता गर्ने बिम्स्टेकको नियम भएकाले वर्तमान अध्यक्ष मुलुक म्यान्मारबाट तेस्रो शिखर सम्मेलनको समाप्तिसँगै नेपाल अध्यक्ष बन्नेछ । यससँगै चौथो बिम्स्टेक सम्मेलन आयोजना गर्ने दायित्व नेपालमा आउने छ ।
काठमाडौँमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलन भएपछि त्यसको अध्यक्षता पनि नेपालले गर्ने भएकाले बिम्स्टेकमा नेपालको सहभागिता एउटा महत्पूर्ण अवसर भएको छ । पारस्परिक लाभका लागि प्रभावकारी क्षेत्रीय सहयोग प्रवद्र्धनका साथै क्षेत्रीय एकीकरण र समृद्धिमा योगदान गर्न नेपालको दृष्टिकोण एवम् क्षमता प्रस्तुतिमा पनि सम्मेलन महत्वपूर्ण हुने ठानिएको छ ।
