समाचारसोमबार, फाल्गुण १९, २०७०
शक्ति सन्तुलनको आधारमा संविधानः देउवा
कांग्रेसका वरिष्ठ नेता देउवाले दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका हुन् । नेपाल प्रेस युनियन, बाँकले १९ फागुनमा गरेको पत्रकार सम्मेलनमा उनले भने, “संसदभित्र र बाहिरका सबै दलको सहमतिको आधारमा नै संविधान निर्माण हुन्छ ।”
सहमति निर्माण नभए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले निश्चित समयसम्म सहमतिको प्रयास हुने र सहमति नभए दुई तिहाइमा जानुको विकल्प नभएको जवाफ दिए । आफ्नो दलले लोकतन्त्रको सिद्धान्त तथा मूल्य, मान्यतामा सम्झौता नगरी अरु मुद्दामा सहमतिका लागि हदैसम्म लचिलो हुने उनको भनाइ छ ।
उनले वर्तमान सरकारले नै संविधान निर्माणको काम सक्नुपर्नेमा जोड दिए । उनले आफू र प्रधानमन्त्रीबीच कुनै विमति नरहेको पनि स्पष्ट पारे ।
“अब बन्ने संविधान बहुपहिचानसहित नागरिक अधिकारको दस्तावेज हुन्छ, यसमा सबैको अपनत्व झल्कनेमा शङ्का गर्नु हुँदैन”, उनले भने ।
