समाचारसोमबार, फाल्गुण १९, २०७०
अधिकारी दम्पत्तिबारे सरकारको आधिकारिक धारणा माग
व्यवस्थापिका संसदको १९ फागुनमा बसेको बैठकमा सभामुख नेम्बाङले अधिकारी दम्पत्तिको विषयमा सरकारलाई रुलिङ गरेका हुन् । सभासदहरुले अनशनमा बसिरहेका अधिकारी दम्पत्तिसँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सरकारको धारणा माग गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अधिकारी दम्पत्ति आमरण अनशनमा बसेको लामो समय बित्दा पनि उनीको माग संबोधन नभएको भन्दै सरकारको आलोचना गरे । अधिकारी दम्पत्तिसँग गरेको सहमतिसमेत सरकारले कार्यान्वयन नगरेको उनले आरोप लगाए ।
एमाओवादी नेता जनार्दन शर्माले अधिकारी दम्पत्तिको जीवन रक्षाका लागि सरकारले पहल गर्नपर्ने बताए । तर, विस्तृत शान्ति प्रक्रिया विपरित गएर कारवाही अघि बढाए आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए ।
अधिकारी दम्पत्तिको माग सरकारको प्राथमिकताः गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गोरखाका अधिकारी दम्पतिको माग पूरा गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।
व्यवस्थापिका संसदको १९ फागुनमा बसेको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले अधिकारी दम्पत्तिको माग पूरा गर्न सरकारले छानवीन गरिरहेको बताए । उनले चाँडै नै कृष्णप्रसाद अधिकारीको हत्याराको अनुसन्धान गरेर अधिकारी दम्पत्तिको समस्या समाधान गर्ने बताए ।
छोराका हत्यारालाई कारवाहीको माग गर्दै ८ कात्तिकदेखि गोरखा फुजेल–७ का नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्ति अनशनरत छन् ।
एसएलसी परीक्षा दिएर २४ जेठ २०६१ मा चितवनमा रहेका हजुरबा भेट्न पुगेका अधिकारी दम्पतीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीले अपहरण गरी यातना दिएर हत्या गरेका थिए ।

