समाचारमंगलबार, फाल्गुण २०, २०७०
काठमाडौंमा गुण्डाहरु भागाभाग छन्ः गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री गौतमले आफूले गृहमन्त्रालयको पदभार ग्रहण गरेलगत्तै काठमाडौंबाट गुण्डाहरुको भागाभाग शुरु भएको दावी गरेका हुन् । प्यूठानमा २० फागुनमा भएको कार्यक्रममा उनले भने, “मैले पदभार ग्रहण गरेलगत्तै अतिआवश्यक निर्देशन जारी गरेकाले गुण्डाहरुको भागाभाग चलिरहेको छ ।”
उनले गुण्डागर्दी गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । “सरकारले जनताको सुरक्षालाई गम्भीरतापूर्वक लिएको छ,” उनले भने, “गुण्डागर्दी, अशान्ति श्रृजना गर्नेलाई कारवाही गर्नका लागि विशेष निर्देशन दिएको छु ।”
उनले छिट्टै स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए । “६ महीनाभित्र स्थानीय निर्वाचन नभए पाँच वर्ष कुनुपर्छ, त्यसैले छिट्टै चुनाव गर्नुपर्छ,” उनले भने ।
स्थानीय निकायको निर्वाचन गर्न सरकार तयार रहेको उनको भनाइ छ । उनले भने, “जनआन्दोलन र क्रान्तिका उपलब्धी, लोकतन्त्र र यसका मुल्य मान्यतालाई जनताको घरदैलोसम्म पुर्याउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक छ ।”
उनले अघिल्लो संविधानसभाले प्रक्रियाबाट टुंगो लगाएका विषयलाई ग्रहण गरेरै भए पनि एक वर्षभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
विजयसिंह भारती, प्यूठान
