समाचारशुक्रबार, भाद्र १, २०६९
‘विधिको शासन नहुँदा अर्थतन्त्र निरन्तर ओरालो ’
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घद्वारा १ भदौमा आयोजित अन्तरक्रियामा सहभागीहरूले देशमा लगानीको वातावरण बिग्रिएको बताएका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने “राजनीतिक अनिश्चितताका कारण निर्धक्क भएर लगानी गर्ने वातावरण छैन ।” विधिको शासन नहुँदा देशको अर्थतन्त्र निरन्तर ओरालो लागेको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०६४÷०६५ यताका चार वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको उल्लेख गर्दै उहाँले सो समयमा मजदुरको ज्यालामा उल्लेख्य वृद्धि भए पनि ट्रेड युनियनको समस्या झनै बढ्दै गएको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहले विगतका चार वर्षमा आर्थिक वृद्धिदरमा स्थिरता आउन नसकेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा सुधार नभई अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए । उनले राजनीतिक सहमतिबाट बजेट ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले राजनीतिक स्थायित्वका लागि सहमति बन्नुपर्ने बताए । उनले भने ‘अर्थतन्त्र जोगाउन राजनीतिक दलहरू एक ठाउँमा आउनै पर्छ ।’
अर्का अर्थशास्त्री डा. चिरञ्जिवी नेपालले आर्थिक नीतिमा सबै राजनीतिक दलहरूको एउटै दृष्टिकोण हुनुपर्नेमा जोड दिँदै लगानीमैत्री वातावरण नहुनु अस्थिर राजनीतिको परिणाम भएको बताए ।
कार्यक्रममा अर्थशास्त्री टुकराज बस्याल र सङ्घका अध्यक्ष पद्मराज रेग्मीले वित्तीय क्षेत्रको सुधारका लागि सबै क्षेत्रको सहयोग अनिवार्य रहेको उल्लेख गरेका थिए । रासस
