थप समाचारबुधबार, फाल्गुण २१, २०७०
भारतमा संसदको निर्वाचन २४ चैतदेखि
भारतमा लोकसभा (संसद) को १६ औं निर्वाचन ७ अप्रेलदेखि ९ मेसम्म गरी ९ चरणमा सम्पन्न हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
लोकसभा निर्वाचनसँगै आन्ध्र, ओडिशा र सिक्किम राज्यको विधानसभा निर्वाचन पनि हुने प्रमुख निर्वाचन आयुक्त वीएस सम्पतले जनाएका छन् ।
आयोगका अनुसार लोकसभा निर्वाचनमा ८१ करोड भन्दा बढी मतदाता सूचिकृत भएका छन् । यसअघिको निर्वाचनभन्दा यो संख्या १० करोडले बढी हो ।
निर्वाचनका लागि भारतभर ९ लाख ३० हजार मतदान केन्द्र बनाइने पनि आयोगले जनाएको छ । भारतको पहिलो आम निर्वाचनमा मतदाता संख्या १७.६ करोड थियो ।
आयोगले लोकसभा निर्वाचनमा एक उम्मेदवारले प्रचारका क्रममा भारु ७० लाखसम्म खर्च गर्न सक्ने जनाएको छ यसअघि यो सीमा ४० लाखसम्म थियो ।
निर्वाचन सुरक्षाका लागि १.१ करोड सुरक्षाकर्मी तैनात गरिने छ ।
यसपटकको निर्वाचनमा मतदाताले ‘राइट टू रिजेक्ट’ अर्थात कुनै पनि उम्मेदवार उपयुक्त नभएको भनी मतदान गर्न पाउने छन् । भोटिंग मसिनबाट गरिने मतदानमा कुनै उम्मेदवार ठिक नभएको विकल्पमा भोट हाल्न सकिने पनि व्यवस्था गरिएको छ ।
भारतीय संसदको तल्लो सदन लोकसभामा ५४३ सिट छन् । सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले २७२ सांसदको समर्थन लिनुपर्नेछ ।
सत्तारुढ कांग्रेस, प्रमुख विपक्षी भारतीय जनता पार्टी, आम आदमी पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुने निर्वाचन पूर्वका सर्वेक्षणहरुले देखाएका छन् ।
बीबीसीको सहयोगमा
