समाचारबुधबार, फाल्गुण २१, २०७०
अवकाशप्राप्त र मृतकलाई अख्तियारले विवरण बुझाउन भनेपछि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि निधन भइसकेका झापाको कवि शिरोमणि उमावि मेचीनगरका तत्कालिन शिक्षक दिलबहादुर मगरको नाममा सम्पत्ति विवरण नबुझाएको भन्दै कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ ।
त्यस्तै मेचीनगरकै यामप्रसाद भण्डारीले शिक्षक पेसाबाट अवकास लिएको नौ वर्ष भइसकेको छ तर उनलाई पनि आयोगले त्यस्तै पत्र पठाएको छ ।
दिलबहादुर र यामप्रसादजस्ता सयौं झापाली शिक्षकको नाममा यो वर्षको सम्पत्ति विवरण नबुझाएको भन्दै आयोगले शिक्षा कार्यालयलाई जरिवानाको चिठी पठाएपछि यतिखेर शिक्षकहरु अचम्ममा परेका छन् ।
सम्पत्ति विवरण बुझाएर शिक्षक किताबखाना काठमाडाँैमा नाम पठाएका शिक्षकको नामसमेत उक्त पत्रमा परेको छ ।
मृत्यु भइसकेका, अवकाश पाएका, अन्य जिल्लामा सरुवा भई गएका र विवरण बुझाएर पनि नबुझाएको भन्दै नाम सार्वजनिक भएपछि झापाली शिक्षक आयोगको लापरबाहीले चिन्तित बनेका छन् ।
नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागार्इंले त्रुटि सच्याउन अनुरोध गर्दै केही दिनअघि जिल्ला शिक्षा कार्यालय झापामा मागपत्र बुझाइएको बताए ।
झापाका ५८४ जना शिक्षकको नाम जरिवाना तिर्नुपर्ने सूचीमा परेपछि नेपाल शिक्षक सङ्घको पहलमा केन्द्रीय सदस्य तिलकसिंह पाण्डे नेतृत्वको टोलीले काठमाडौं गएर शिक्षक किताबखानामा खोजी गरेको थियो । जसमध्ये २७७ जना शिक्षकको नाम अभिलेखमा भेटाइएको छ । अन्य शिक्षकलेसमेत आफ्नो विद्यालय र स्रोत केन्द्रमा सम्पत्ति विवरण बुझाएको बताएका छन् ।
“मैले आफैंले आफ्नो सम्पत्ति विवरण बुझाएको हो”, जनज्योति निमावि शान्तिनगरका शिक्षक घनश्याम घिमिरेले भने, “तर कुन रुपमा नाम सार्वजनिक भएको हो म आफैं अचम्ममा परेको छु ।”
आर्थिक वर्ष शुरु भएको ६० दिनभित्रमा स्थायी शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । विवरण नबुझाएमा रु पाँच हजार जरिवानासहित पुनः विवरण पठाउनुपर्छ । अख्तियारले पत्र पठाएकामध्ये मृत्यु भएका शिक्षकमा प्रावि बर्नेका महिकरप्रसाद चौधरी, सरस्वती माविका ज्ञानेन्द्र बोहोरा, त्रिभुवन माविका धनकुमार श्रेष्ठ, महेन्द्ररत्न उमावि अनारमनीका युवराज घिमिरे, आदर्श निमाविका रामप्रसाद ओली, शनिश्चरे उमाविका लक्ष्मीप्रसाद खरेल, शान्ति आदर्श उमाविका लिलाप्रसाद तिम्सिनालगायत छन् ।
जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले विवरण नबुझाउनेलाई फागुन २२ गते पुनः बुझाउन पाउने र भुलवस नाम परेका शिक्षकको सम्पूर्ण विवरण खुलाएर केन्द्रमा पठाउने जानकारी दिएका छन् ।
रासस
