थप समाचारबिहीबार, फाल्गुण २२, २०७०

नौ महिलालाई नरदेवी सम्मान (तस्वीरसहित)

हिमालखबर

-मीना शर्मा
सेलिब्रेटिङ वुमनहुडले २० फागुनमा विभिन्न क्षेत्रमा अगुवाई गरिरहेका नौ महिलालाई ‘सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान २०७०’ बाट सम्मानित गर्‍यो । सामाजिक, राजनीतिक र आर्थिक पक्षमा सकारात्मक नतीजा ल्याउने महिलालाई सम्मान गरेको सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मानकी संयोजक एवम् अवधारणाकार श्रृजनासिंह योञ्जनले बताइन् ।

सम्मानित हुनेमा नन्दादेवी कुँवर, बन्दना दनुवार, ऋतु ग्याम्दन, ईश्वरी बानियाँ, मीना खरेल, कल्पना कार्की, लक्ष्मी भुषाल, केशरी थापा र पार्वती डगौरा छन् । उनीहरुले आ–आफ्नो क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएका छन् ।

नन्दादेवी कुँवर
कैलालीकी कुँवर बन संरक्षणविद् हुन् । स्थानीय वनको संरक्षण र सदुपयोग गर्ने विषयलाई राष्ट्रिय तहमा ल्याउन उनले महत्वपूर्ण योगदान दिएकी छन् । कैलालीको मधुमालती सामुदायिक बन संरक्षणको बेलामा उनीमाथि काठतस्करहरुले आक्रमण गरेका थिए । तर, अझै पनि उनी बन संरक्षणमा क्रियाशील छन् ।

बन्दना दनुवार
रेडियो उदयपुरकी स्टेशन मेनेजर हुन्, बन्दना । महिलाहरुद्वारा संचालित रेडियो उदयपुरमा ३०वर्षभन्दा कम उमेरका कार्यक्रम उत्पादक तथा प्रशारकहरु छन् ।

ऋतु ग्याम्दान
रसुवाको दुर्गम गाउँ लहुरेपौवा–१ मा जन्मेर हुर्किएकी ऋतु र्‍याफ्टिङ तथा ट्रेकिङ गाइड हुन् । उनले तीन दिदीबहिनीसँग मिलेर हिमालयन एड्भेञ्चर गल्र्स कम्पनी पनि खोलेकी छन् । उनले र्‍याफ्टिङ गाइड तालिम पनि दिइरहेकी छन् ।

ईश्वरी बानियाँ
एचआईभी संक्रमित तथा प्रभावित महिलाहरुको संस्था हो, मकवानपुर महिला समूह । यो समूहकी अगुवा हुन्, ईश्वरी । २०५९ सालदेखि उनी एचआईभी संक्रमितको पक्षमा निरन्तर क्रियाशील छिन् ।

मीना खरेल
चितवनमा महिलाको पक्षमा आन्दोलनको शुरुवात गर्नेमध्येकी एक हुन्, मीना । उनले स्थापना गरेको नारी विकास केन्द्रले महिलालाई संगठित गर्ने र महिलाको पक्षमा काम गर्छ । उनले हिंसा खेपेर बसेका धेरै महिलालाई प्रशासनसम्म लगी पीडकलाई कठघरमा उभ्याउने सेतुको रुपमा काम गर्दै आएकी छन् ।

कल्पना कार्की
सिन्धुपाल्चोकमा विपन्न परिवारमा जन्मिएकी कल्पनाले जमिनमाथि महिलाको स्वामित्व स्थापित गर्न नेतृत्व गरिन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रमार्फत् उनले सम्पत्तिमाथि महिलाको पहुँच र नियन्त्रण कायम गर्ने अभियान चलाइरहेकी छन् । उनको अभियानकै प्रभावले सरकारले संयुक्त जग्गा धनीपूर्जा बनाउँदा एक सय रुपैंया मात्रै राजश्व तिर्नुपर्ने नीति ल्यायो ।

लक्ष्मी भुषाल
भुषालले आफ्नो जीवनको ५५ वर्ष रेडियो नाटकको माध्यमबाट कलाकारितामा बिताइसकेकी छन् । रेडियो नेपालमा कृषि कार्यक्रमकी ‘बुढीआमै’को रुपमा पहिचान बनाएकी उनले नाटकमार्फत् नेपाली समाजलाई योगदान दिएकी छन् ।

केशरी थापा
दृष्टिविहिन बालबालिकालाई शिक्षा बाड्ने अभियानको अगुवा हुन्, थापा । उनले २१ वर्षदेखि पूर्वाञ्चल ज्ञानचच्क्षु विद्यालयमार्फत् दृष्टिविहिन बालबालिकालाई शिक्षा दिँदै आएकी छन् ।

पार्वती डगौरा
उनी सानैदेखि कमलरी थिइन् । तर, उनी कमलरी नबस्ने मात्र होइन मुक्त कमैया आन्दोलनमा लागिन् । कञ्चनपुर भूमि अधिकार मञ्चको अध्यक्ष उनी भूमिहीनहरुका आवाज बोल्ने अभियानकर्ता हुन् ।

तस्वीरहरुः देबकी विष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>