समाचारबिहीबार, फाल्गुण २२, २०७०
अधिकारी हत्याका आरोपीविरुद्ध इन्टरपोलमार्फत् नोटिस जारी
व्यवस्थापिका संसदको २२ फागुनमा बसेको बैठकमा गृहमन्त्री बामदेव गौतमले आचार्यविरुद्ध २१ फागुनमा डिफ्युजन नोटिस जारी भएको जानकारी दिए । बेलायतमा लुकेर बसेका अधिकारी हत्याका आरोपी आचार्यविरुद्ध प्रहरीले इन्टरपोलमार्फत् नोटिस जारी गरेको हो । अर्को मुलुकमा लुकेर बसेका व्यक्तिलाई पक्राउ गरी फिर्ता ल्याउन इन्टरपोलमार्फत् नोटिस जारी गर्ने गरिन्छ ।
संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले अधिकारी हत्याको सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताए । अधिकारी हत्याको विषयमा डीआईजी गणेशराज राईको संयोजकत्वमा गठित उच्चस्तरीय छानबीन समितिले छानबीन गरिरहेको पनि गृहमन्त्रीले संसदलाई जानकारी गराए ।
गृहमन्त्री गौतमले अनशनरत अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गरेका छन् । अधिकारी हत्याको अनुसन्धान भइरहेको भन्दै उनले अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गरेका हुन् ।
सरकारले २५ पुसमा डीआईजी राईको संयोजकत्वमा उच्चस्तरीय छानबीन समिति गठन गरेको हो । गोरखा, फुजेल–७ का १७ वर्षीय कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा हत्या भएको थियो ।
