थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०
अफगान राष्ट्रपतिलाई भारतमा पुत्री लाभ
२० फागुन बिहान छोरी जन्मिएपछि आफ्नी श्रीमती अफगानिस्तानकी प्रथम महिला र नवजात शिशुलाई भेट्न राष्ट्रपति हमिद कारजायी २२ फागुनमा भारत पुगेका थिए । भारतको राजधानी नयाँ दिल्लीबाट करिब २५ किलोमिटर पर रहेको फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्यूटमा रहेका आमा छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको सो अस्पतालले जानकारी दिएको छ ।
नवजात शिशु र आमाको स्वास्थ्य राम्रो भएको भारतका लागि अफगानिस्तानका राजदूत साइदा मोहमद अब्दालीले २३ फागुनमा जानकारी दिएका छन् । अब्दालीका अनुसार यसअघि राष्ट्रपति कारजायीका दुई छोरीहरु अफगानिस्तानकै अस्पतालमा जन्मेका भए पनि यसपटक भने अफगानी चिकित्सकहरुले आमाको स्वास्थ्यमा केही जटिलता भएकाले भारतमा प्रसुती गराउन सुझाव दिएका थिए ।
राजदूत साइदा मोहमद अब्दालीले जनाएअनुसार राष्ट्रपति कारजायी र अफगान प्रथम महिलाले शिशुका साथ केही समयसँगै बिताएका थिए ।
अफगान राष्ट्रपति कारजायी ५७ वर्षका छन् भने उनकी पत्नी जिनत ४४ वर्षकी भइन् । उनी सन् २००१ को डिसेम्बर महिनादेखि अफगानिस्तानको राष्ट्रपति पदमा कार्यरत छन् ।
एजेन्सी
