समाचारशनिबार, फाल्गुण २४, २०७०
मलेशिया एयरलाइन्सको विमान समुद्रमा दुर्घटनाग्रस्त
मलेशिया एयरलाइन्सको वेपत्ता विमान समुद्रमा दुर्घटनाग्रस्त भएको भियतनामी सेनाका अधिकारीलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको रोयटर्सले जनाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार भियतनामी सेनाका अधिकारीले विमान समुद्रमा खसेको र भियतनामको दक्षिणी क्षेत्रको टापुबाट घटनास्थलतर्फ उद्दारका लागि डुंगाहरु पठाइएको बताएका छन् । यद्दपी शनिबार अवेरसम्म समुद्रमा जहाजको कुनै निशान फेला नपरेको मलेशियाली अधिकारीहरुले जनाएका छन् ।
शनिबार राति मलेशियाको राजधानी क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको बोइङ बी ७७७–२०० विमान उडेको दुई घण्टापछि सम्पर्कविहिन भएको थियो । विमानमा चालकदलका सदस्यसहित २३९ यात्रु थिए ।
मलेशिया एयरलाइन्सका मुख्य कार्यकारी अहमद जौहरीले पत्रकार सम्मेलन गरेर विमानको खोजी भइरहेको बताएका छन् ।
जौहरीका अनुसार विमानमा विभिन्न १४ देशका यात्रीहरु थिए । जसमध्ये चीनका १५२, मलेशियाका ३८, इण्डोनेशियाका १२ र ७ जना अष्ट्रेलियाका थिए ।
चीनले पनि विमानको खोजीका लागि दुईवटा विशेष विमान परिचालन गरेको छ ।
————————————————————————————–
मलेशिया एयरलाइन्सको विमान २३९ यात्रुसहित वेपत्ता
क्वालालम्पुरबाट बेइजिंगका लागि उडेको मलेशिया एयरलाइंसको विमान वेपत्ता भएको छ । विमानमा चालकदलका सदस्यसहित २३९ जना यात्रुहरु छन् ।
चालकदलका सदस्यसहित २३९ जना यात्रु लिएर मलेशियाको राजधानी क्वालालम्पुरबाट चीनको बेइजिंगका लागि उडेको विमान स्थानीय समय अनुसार शनिबार राति २:४० बजेदेखि सम्पर्कविहिन भएको छ । निर्धारित समय अनुसार विहान ६:३० बजे विमान बेइजिंग पुग्नु पर्ने थियो ।
विमान दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । एयरलाइन्सले विमानको खोजी कार्य तिव्र पारिएको जनाएको छ ।
बोइङ बी ७७७–२०० उक्त विमानमा २२७ जना यात्रु, दुई बालक र १२ जना चालक दलका सदस्य रहेको एयरलाइन्सले जनाएको छ । क्वालालम्पुरबाट उडान भरेको दुई घण्टामै विमान संपर्कविहिन भएको बताइएको छ ।
चिनियाँ समाचर एजेन्सी सिन्ह्वाले विमान भियतनाम नियन्त्रित क्षेत्रमा कतै हराएको उल्लेख गरेको छ । विमान चीनको हवाई क्षेत्रमा प्रवेश नगरेको र संपर्क पनि नगरेको सिन्ह्वाले बताएको छ ।

