थप समाचारबुधबार, फाल्गुण २८, २०७०
हिमाली भरियालाई न्यानो कपडा– ‘क्लोथिङ बैंक’
–बुद्धवीर बाहिङ, सोलुखुम्बु
हिमाली पर्यटकका भारी बोकेर गुजारा गरिरहेका नेपाली भरियाहरुले उच्च हिमाली भेगमा लगाउन पर्यटकका जस्ता न्यानो र महंगो लुगा किन्न सक्दैनन् । एउटा गतिलो ज्याकेट र जुत्ता किन्दा मात्रै महिना दिनको कमाई सक्काउनु पर्ने वाध्यता हुन्छ ।

खुम्जुङ गाविसको त्याङबोचेस्थित एभ्रेष्ट क्लोथिङ बैंकबाट लगेको कपडा लगाएर सगरमाथाको आधारशिविर जाँदै पर्यटक भरियाहरु ।
तर, अहिले सोलुखुम्बुमा भरियाहरुलाई आवश्यकता अनुसार न्यानो कपडा दिने ‘सगरमाथा क्लोथिङ बैंक’ खुलेपछि भरियाले आवश्यक परेका बेला न्यानो कपडा लगाउन पाउने भएका छन् । सोलुखुम्बुको चौरीखर्कस्थित लुक्ला बजारमा खुलेको ‘एभरेष्ट क्लोथिङ बैंक’ ले पर्यटक भरियालाई न्यानो कपडा उपलब्ध गराउन थालेको छ ।
‘एभरेष्ट क्लोथिङ बैंक’ मा एक हजार रुपैंया धरौटी राखेर भरियाले एक सेट कपडा पाउँछन् । पसलका प्रमुख लाक्पा बाङ्छु शेर्पाले पर्यटक भरियाको आवश्यकता अनुसार कपडा दिइने बताए । भरियाले लगेको लुगा काम सकिएपछि धोएर बैंकलाई नै फिर्ता गर्नुपर्छ । यसवापत बैंकले कुनै रकम लिंदैन ।
क्लोथिङ बैंकमा अहिले २४० थान स्लिपिङ ब्याग र ३५० थान ज्याकेट भएको उनले बताए । तर, कपडा लिन भरियाका तर्फबाट पर्यटक वा गाइड जमानी बसिदिनुपर्ने शेर्पाले बताए ।
खिजीचण्डेश्वरी ओखलढुंगाका पर्यटक भरिया लोकबहादुर सुनुवारले पसल खुलेपछि सजिलो भएको बताए ।
तस्वीरहरुः बुद्धवीर बाहिङ



