समाचारशुक्रबार, फाल्गुण ३०, २०७०
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि
सरकारले ३० फागुनदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ ईन्धनमा भारी मूल्यवृद्धि गरेको हो । यसअघिकाभन्दा दोब्बरले मूल्यवृद्धि भएको हो ।
नेपाल आयल निगमको ३० फागुन बिहान बसेको संचालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर रु. १०, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. ६/६ मूल्य बढाउने निर्णय गरेको छ । यस्तै, बैठकले आन्तरिक हवाइ ईन्धनमा प्रतिलिटर रु. ६ र अन्तर्राष्ट्रिय हवाइ ईन्धनमा प्रति किलोलिटर एक सय डलर मूल्य बढाउने निर्णय गरेको छ ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले खाना पकाउने एलपी ग्याँसको भने मूल्य नबढाएको जानकारी दिए । सरकारले एलपी ग्याँसबाटै सबैभन्दा बढी घाटा खेप्दै आएको छ ।
यसअघि २६ भदौ २०७० मा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको थियो । सरकारले त्योबेला पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. ३/३ मूल्य बढाएको थियो ।
प्रवक्ता घिमिरेले निगमको ऋणभार कम गर्न मूल्यवृद्धि गर्नुपरेको बताए । “घाटा रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्न बाध्य भएका हौं,” उनले भने ।
उनले दिएको जानकारी अनुसार निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) लाई यो महीनाको अन्तिममा रु. ९ अर्ब बुझाउन पर्नेछ । आईओसीलाई तिर्नुपर्ने रु. १४ अर्ब बक्यौतामध्ये रु. ५ अर्ब केही दिन अघि मात्रै बुझाएको उनले बताए ।
