समाचारशुक्रबार, फाल्गुण ३०, २०७०
स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र नेता नेपालबीच छलफल
प्रधानमन्त्री कोइराला र एमाले वरिष्ठ नेता नेपालबीच आगामी जेठभित्रै स्थानीय निर्वाचन गर्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ३० फागुन बिहान भएको भेटवार्तामा जेठ महीनाभित्रै कुनै पनि हालतमा निर्वाचन गर्नेबारे छलफल गरेको नेता नेपालले जानकारी दिए ।
भेटवार्तापछि उनले भने, “दुई दलबीच आगामी जेठभित्र जसरी पनि स्थानीय निर्वाचन गर्ने विषयमा छलफल भयो ।” स्थानीय निर्वाचनमा एमाओवादी र नेकपा–माओवादीले भाग नलिने भनाइलाई उनले हारको मानसिकताको उपज भएको टिप्पणी गरे ।
“स्थानीय निर्वाचन त एमाओवादीले संविधानसभा निर्वाचन अघि बनाएको एजेन्डा हो, उनले भने,” “एमाओवादी हारको मानसिकताबाट माथि उठ्नुपर्छ ।” उनले स्थानीयस्तरसम्म राज्यकोषको सदुपयोग गर्नका लागि पनि स्थानीय निर्वाचनमा सबैले भाग लिनुपर्नेमा जोड दिए ।
भेटवार्तामा संविधान निर्माण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा पनि छलफल भएको नेपालले जानकारी दिए ।
रासस
