थप समाचारशुक्रबार, फाल्गुण ३०, २०७०

सिंहदरबारदेखि भद्रकाली मन्दिरसम्म सौर्य बत्ती

हिमालखबर

सिंह दरबार अगाडी सौर्यवत्ती जडान गरि‌दै । तस्वीर: रासस

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार वरपर नै रातको समयमा अन्धकार रहने स्थिति भएपछि सौर्य बत्ती जडान गरिएको ‘लेजरसन इनर्जी’का इन्जिनियर ठाकुरप्रसाद कालाथोकीले जानकारी दिएका छन् ।

सिंहदरबार ढोकादेखि भद्रकालीसम्म पहिलो चरणमा २३ सौर्य बत्ती जडान भएको र आगामी दिनमा काठमाडौँ उपत्यकाका अन्य स्थानमा समेत जडान गरिने योजना छ । बत्ति जडानका लागि बैंकले रु २५ लाख उपलब्ध गराएको छ । रातभर बल्ने र उज्यालो भएपछि आफैँ बत्ती निभ्ने प्रणालीसमेत जडान गरिएको छ ।

योजनाअन्तर्गत माइतीघर, थापाथलीसम्म पनि सौर्य बत्ती जडान गरिने छ । हाल जडान भएको सौर्य बत्तीमा १५० वाट क्षमताको सौर्य पाता तथा ४० वाटको बत्ती राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको स्वीकृतिमा सौर्य बत्ती जडान गरिएको जानकारी दिँदै कालाथोकीले मुलुकका अन्य स्थानमा समेत सोही खालको प्रणाली जडान गरिने बताए ।

काठमाडौँ महानगरपलिकाले बागबजार, शोभाभगवती, टेकु, बानेश्वर साझा बस्ती, कोटेश्वर महादेव मन्दिर, बागदरबार, रानीपोखरी, हनुमानढोका, घट्टेकुलोलगायत स्थानमा सौर्य बत्ती जडान गरिसकेको छ ।

दरबारमार्गमा पनि जडान गरिंदै

यस्तै दरबारमार्ग विकास बोर्डले दरबारमार्गमा पनि सडक बत्तीका रुपमा सौर्य प्रणाली जडान गरिरहेको छ । बोर्डका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिका अनुसार दरबारमार्गमा जडान गरिएको बत्ती आगामी वैशाख १ गतेदेखि बाल्ने योजना छ ।

दरबारमार्गमा ९०सौर्य बत्ती जडान गरिएको छ । दायाँबायाँ र बीचमा गरी सडकको तीन वटै स्थानमा बत्ती जडान गरिने छ । जडान जारी रहेको भन्दै उनले त्यसका लागि रु एक करोड लागत रहेको बताए ।

प्राधिकरण र महानगरपलिकालाई पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएपछि स्थानीय व्यापारी तथा व्यवसायीको सहयोगमा सौर्य बत्ती जडान गरिएको हो । बोर्डले सडक बत्ती राख्नका लागि अत्याधुनिक प्रविधिको खम्बा गाडेको छ । सोही खम्बामा व्यावसायिक विज्ञापन राख्न दिएर लागत उठाउने तयारी गरिएको छ ।

लामो समय ऊर्जा सङ्कट रहिरहने भएकाले अरु कुनै उपाय नदेखिएपछि बाध्य भएर सौर्य बत्ती जडान गरिएको कक्षपतिको भनाइ छ । “हाल जडानका लागि धेरै रकम लागे पनि व्यापारी तथा व्यवसायीको सहयोग रहने भएकाले लागत उठ्ने विश्वास छ ।” बोर्डका अध्यक्ष कक्षपतिले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>