समाचारशुक्रबार, फाल्गुण ३०, २०७०

दुई सेनाप्रमुखद्वारा संयुक्त सैनिक अभ्यासको अवलोकन

हिमालखबर

तस्वीर सौजन्य: नेपाली सेना

प्रधान सेनापति गौरव शम्शेर जबरा र भारतीय स्थल सेनाअध्यक्ष विक्रम सिंहले ३० फागुनमा सलाझण्डी स्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा सञ्चालन भइरहेको नेपाली सेना तथा भारतीय सेनाको संयुक्त सैनिक अभ्यास ‘एक्स सूर्य किरण–६’ को निरीक्षण तथा अवलोकन गरेका छन् ।

दुवै सेना प्रमुखहरुलाई सैनिक विनय महानिर्देशक उपरथी भिक्टर जबराले अभ्यासको बारेमा विस्तृत जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा दुवै मुलुकका फौजले संयुक्तरुपमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यासलगायत सैनिक युद्धकलासम्बन्धी कार्यको प्रदर्शन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

युद्धकलाको प्रदर्शन र अवलोकनपछि अभ्यास टोलीसँग भेटघाट गर्ने क्रममा भारतीय सेनाध्यक्ष सिंहले उक्त अभ्यास तथा प्रदर्शनीको प्रशंसा गर्दै नेपाली सेनाको व्यावसायिकता, निष्ठा र दक्षताबाट धेरै कुरा सिक्न सक्ने बताएका थिए ।

भारतीय सेनाका सेनाध्यक्ष सिंहको नेतृत्वमा २९ फागुनमा काठमाडौं आइपुगेको मेजर जनरल सुब्रता शाह, कर्णेल सिएस देउगन र कर्णेल विकाश लाखारा सम्मिलित टोली ३० फागुन दिउँसो विशेष विमानद्वारा स्वदेश फिर्ता भएको छ ।

अभ्यासमा नेपाली सेनाका २०० र भारतीय सेनाका २५० गरी ४५० सैनिक सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>