समाचारशनिबार, चैत्र १, २०७०
भोज खाएर बिरामी परेकाहरुको स्वास्थ्य सुधार हुँदै
बाँकेको कम्दीमा विवाहमा हिजो भोजमा विषाक्त परिकार खाँदा विरामी परेका २०० भन्दा बढीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।
बिरामी परेका अधिकांश कम्दी गाविसको ढलैपुर, रङ्गीताल, ग्वाना र मिलनिया गाउँका रहेका छन् । खाना विषाक्त भएका कारण उनीहरु बिरामी परेको अनुमान गरिए पनि ठोस कारण पत्ता लगाउन दुई जनाको दिशा सङ्कलन गरी अनुसन्धानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ ।
भेरी अञ्चल अस्पतालमा उपचार भइरहेका १२५ जनामध्ये ५० जना घर फर्किएका छन् । सो गाउँका स्थानीय पूर्णबहादुर बोहराको घरमा करिब ६१ जनाको उपचार भइरहेको छ ।
कम्दी उपस्वास्थ्य चौकीका इन्चार्ज टीकाराम बोहराको नेतृत्वमा चार जनाको औषधिसहितको टोलीले ३० फागुन रातिदेखि उपचार गरिरहेको छ ।
यस्तै २४ जनाको मेडिकल कलेज नेपालगन्जमा र चार जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे जानकारी लिन जनस्वास्थ्यको एक टोली त्यसतर्फ गएको छ ।
स्थानीय एकलाल थापाको घरमा विवाह भोज खाएकाहरुमा बान्ता हुने र पेट दुख्ने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बा“केका कर्मचारी रामबहादुर चन्दले जानकारी दिए ।
उपचारका लागि भर्ना गरिएका बिरामीमध्ये तीन जनाबाहेक अन्य सबैको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
रासस
