समाचारआइतबार, चैत्र २, २०७०
मलेशियाले वेपत्ता विमानको खोजी रोकेर समिक्षा गर्ने
पछिल्लो एकहप्ता देखि १४ देशहरुले संयुक्त खोजी कार्य गरिरहँदा पनि वेपत्ता बोइङ एमएच ७३० नभेटिएपछि खोजी कार्य केही समयलाई स्थगित गरी समिक्षा गरिने भएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार भारतले अंडमान निकोबार द्वीप र वरपरको बंगालको खाडीमा विमानको खोजी गरिरहेको थियो जुन अहिले रोकिएको छ ।
आइतबार मलेशियामा एक दर्जन देशहरुको सहभागितामा हुने खोजी अभियानको समिक्षा बैठकपछि मलेशियाबाट आउने निर्देशनको प्रतिक्षा गरिरहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
अहिले विमानका चालक र यात्रुहरुको जाँचतर्फ मलेशिया सक्रिय भएको छ ।
मलेशियाका प्रधानमन्त्री नजीब रजाकले बेपत्ता भएको विमानको सन्चार प्रणाली जानीजानी बन्द गरिएको बताएका छन् ।
उनले प्राप्त तथ्यहरुको पछिल्लो विश्लेषणबाट अन्तिम पटक सन्चार सम्पर्क भएपछि पनि उक्त विमान झण्डै सात घन्टा आकाशमा उडेको हुनसक्ने बताए।
मलेसियाली वायुसेवाको उडान नंबर एमएच ३७० अचानक बेपत्ता भएको एक साता बितीसक्दा केही पत्तो लागेको छैन ।
क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको उक्त विमानलाई अपहरण गरिएको हुनसक्ने भन्ने पछिल्ला विवरणहरुलाई मलेसियाली अधिकारीहरुले ठाडै अस्वीकार गरेका छैनन्।
प्रधानमन्त्री रजाकले विमान शुरुको बाटोबाट किन अन्यत्रै लाग्यो भन्नेबारे सबै संभावनाहरुबारे अनुसन्धान भइरहेको बताए ।
विमान मलेशिया प्रायद्वीपको पूर्वी तट पुग्नु ठीक अघि विमानको सन्चार प्रणाली बन्द गरिएको र त्यसको एकै छिनमा मलेशिया र भियतनामको वायु यातायात नियन्त्रकहरुको सीमा नजीकै पुगेपछि विमानको ट्रान्सपण्डर पनि बन्द गरिएको मलेशियाली प्रधानमन्त्रीले सञ्चारमाध्यमहरुलाई बताए।
कुनै जानकार व्यक्तिले विमान नियंत्रणमा लिएर नियोजित मार्ग भन्दा टाढा लगिएको हुनसक्ने पनि रजाकले आशंका व्यक्त गरे ।
विशेषज्ञहरुले विमानका एक पाइलटले कुनै कारणबस विमानको दिशा परिवर्तन गर्न चाहेको पनि बताएका छन् ।
प्रहरीले क्वालालम्पुरमा वेपत्ता विमानका पाइलट ज़हारी अहमद शाह र को–पाइलट फ़ारिक़ अब्दुल हामिदको घरमा खानतलासी गरेको बताइए पनि प्रहरीले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

