थप समाचारमंगलबार, चैत्र ४, २०७०

फेसबुकमा चिनेकासँग भागेपछि…

हिमालखबर

पाँचथर पौवासारताप–७ की १९ वर्षीय सयपत्री (नाम परिवर्तन) फेसबुकमा भेटिएका युवासँग माया गाँसेर हिडिन् तर युवक चाहिं उनलाई बेच्ने तयारी गर्दै थिए ।

झापाको गरामुनी–७ का विजय श्रेष्ठसँग ६ महिना अगाडि फेसबुकमार्फत चिनजान भएपछि सयपत्रीलाई विजयले विवाह गर्ने भन्दै भगाएर काठमाडौं पठाए, तर केही दिन होटेलमा बसेपछि उनले आफू वेचिन लागेको थाहा पाई त्यहाँबाट उम्कन सफल भइन् ।

सयपत्रीले प्रहरीमा दिएको जाहेरी अनुसार विजयले उनलाई ६ महिना अगाडि फेसवुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका थिए । फेसबुकमा साथी बनेपछि च्याट र मोवाइल हुँदै उनी विजयको जालमा फँस्न पुगेकी थिइन् ।

पछिल्लो पटक १८ फागुनमा विजयले सयपत्रीलाई विवाहको प्रस्ताव राख्दै भेटघाटका लागि पाँचथरको राँके वजारस्थित लुङगा होटलमा वोलाए । होटेलमा पहिलो दिन उनीहरुबीच चार घण्टा कुराकानी भयो ।

“पहिलो भेटमै भागौं भनेको थियो तर, मैले मानिन,” सयपत्री भन्छिन, “भोलीपल्ट नागरिकता पासपोर्ट जे जे छ सवै लिएर आऊ भनेपछि घरबाट नागरिकता र मार्कसिट लिएर गएँ ।”

अर्को दिन लुङगा होटलमै बसेका उनीहरु त्यहाँबाट झापाको गरामुनीस्थित विजयको घर गएर ४ दिन सँगै बसे ।

पाँचौ दिन विजयले दबै जना बैदेशिक रोजगारीमा जाने भन्दै पासपोर्ट वनाउने निहुँमा सयपत्रीलाई स्थानीय गणेश जोगीका साथमा काठमाडौं पठाए ।

काठमाडौंको एक होटलको सामान्य कोठामा २४ फागुनदेखि ५ दिन एक्लै बसेकी उनलाई २९ फागुनमा आएका अपरिचित ४ जना युवतीले ‘अव तिमीलाई भारत हुँदै बिदेश पठाइदिन्छौं, हामीलाई नसोधी बाहिर ननिस्कनु, कोठमा कोही मान्छे भेट्न आए उनीहरुले भनेजस्तो गर्नु, कसैलाई फोन नगर्नु’ भनेपछि बेचिन लागेको शंका लागी चर्पी जाने बाहनामा भागेको प्रहरीलाई बयान दिएकी छन् ।

उनी होटेलबाट बाहिरिएपछि कलंकीमा पुगेर बसका कर्मचारीसँग अनुरोध गरी विर्तामोडसम्म पुगेकी थिइन् ।

काठमाडौवाट फर्किएपछि सयपत्रीले दिएको जाहेरीका आधारमा प्रहरीले विर्तामोडवाटै विजयलाई पक्राऊ गरी मानव वेचविखन तथा ओसार पसारविरुद्ध मुद्दा दर्ता गराएको छ ।

२ फागुनमा पक्राउ परेका विजयले सयपत्रीलाई वेचविखनका लागि नभएर विवाह गरेर लगेको दावी गरेका छन् ।

“बेच्ने नियत नभई श्रीमतीकै रुपमा स्विकारेर सयपत्रीलाई भगाएकाले अझै पनि विवाह दर्ता गरेर घरैमा लैजान मञ्जुर छु,” उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

विजय यसअघि आफ्नै पत्नी हत्याको आरोपमा १६ महिना जेल वसेको प्रहरीले जनाएको छ ।

विजयलाई अभियोग पत्रसहित अदालतमा हाजिर गराइए पनि अर्का आरोपी गणेश जोगी भने फरार रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक दिपशम्शेर राणाले बताए ।

“फेसवुकबाट चिनेकालाई विश्वास गर्दा झण्डै फसियो, मेरोजस्तो दुर्घट्नामा अरु नपरुन्,” सयपत्रीले भनिन् ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>